अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित कास्की र नवलपुरका बालअधिकार समूहको प्रदेशस्तरीय सन्जाल बैठक ०८० मङ्सिर १६ गते पोखरामा सम्पन्न भएको छ ।
बैठकमा बालअधिकार समूहका गण्डकी प्रदेशका अध्यक्ष सुनिश्चीत गुरुङले आफ्नो समूहले देउसी भैलौ कार्यक्रमबाट संकलन गरेको रकमले विद्यालयमा प्राथमिक उपचारका सामाग्रीहरु वितरण गरेको, सडक नाटकहरु गरिरहेको, वृक्षारोपण भैरहेको, सरसफाइका कार्यक्रमहरु समेत गरेको बताउनुभयो । उहाँले आगामी पुस ५ गते वार्षिक कार्यक्रममा नाटक देखाउने योजना रहेको बताउनु भयो ।
समूहका सचिव बालकृष्ण पाण्डेले विद्यालयमा भएको दुव्र्यवहारको बारेमा नाटकहरु गरेको, सरसफाई र वातावरणको अधिकारको लागि कागजहरु नजलाउने गरेको, जंकफुड विद्यालयमा ल्याएमा बालअधिकार समूहको पदाधिकारीले १ सय रुपियाँ र अन्यले ५० रुपियाँ तिर्नु पर्ने नियम बनाएको बताउनुभयो ।
समूहकी उपसचिव सृष्टी नेपालीले कुहिने र नकुहिने फोहोरको बारेमा जनचेतना जगाएको बताउनु भयो । कार्यक्रममा बालअधिकारको अवस्थाको बारेमा कसरी कामहरु भैरहेकाे छ भन्ने बारेमा समेत छलफल भएको थियो ।
उक्त बैठकमा बालबालिकाहरुले आगामि कार्ययोजनामा बाल भित्तेपत्रिका, सरसफाई कार्यक्रम, निवन्धकला प्रतियोगीता, वक्तृत्वकला प्रतियोगीता, लैङ्गिंक हिंसा विरुद्ध कार्यक्रम, सामाजिक समस्या विरुद्ध नाटक, छुवाछुत विरुद्धको अभियान, कविता प्रतियोगीता, वादविवाद प्रतियोगीता, लागु औषधबाट भएको नकारात्मक असर सम्बन्धि नाटक, कक्षाकोठामा फोहोर व्यवस्थापन, बालविवाह विरुद्ध र्याली गर्ने कार्ययोजना रहेको बताउनुभयो ।
यी कार्यक्रमहरुको लागि विद्यालय, वडा कार्यालय र गाँउपालिकाको कार्यालयहरुसंग समन्वय गर्ने बालबालिकाहरुले बताउनुभएको थियो ।
