
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत कायापलट र युथ एड्भोकेसी फोरमको आयोजना साथै राष्ट्रिय मानव अधिकार आयोग, सेभ द चिल्ड्रेन, वल्ड वाइल्ड लाइफ फन्ड, कियोस र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहकार्यमा जनकपुरधाममा मानव अधिकार, जलवायु र लैङ्गिक न्याय विषयक वहुपक्षिय संवाद कार्यक्रम ०८० मङ्सिर ११ गते सम्पन्न गरिएको छ ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालयका अधिकृत रेखा दत्तले मानव अधिकार, जलवायु र र लैङ्गिक न्याको विषय उदयमान विषय रहेकोले निरन्तर रुपमा यस किसिमका संवादहरु भइरहनु पर्ने र यसमा आयोगको सहकार्य रहिरहने बताउनु भयो ।
इन्सेक मधेस प्रदेश कार्यालय संयोजक राजु पासवानले मानव अधिकार, जलवायु र लैङ्गिक न्यायको विषयलाई गम्भीरतापूर्वक नागरिक समाजले उठाउनु पर्ने र सरोकारवाला निकायहरुको यस विषयमा क्षमता अभिवृद्धि गर्नुपर्ने बताउनु भयो ।
त्यस्तै, इन्सेक मधेस प्रदेश कार्यालयका सहायक अधिकृत बरुण बस्यालले जलवायु र लैङ्गिक न्यायका सम्बन्धमा सरकारसँगै राज्यका अन्य निकायलाई जिम्मेवार बनाउदै युवा मानव अधिकार रक्षकहरुले वर्तमानको आवश्यकता पहिचान गर्दै रणनीतिक र आवधिक योजनामा योगदान पुर्याउन अतुलनीय भूमिका खेलेको र यस किसिमको भूमिकालाई निरन्तर्ता दिन आवश्यक रहेको बताउनु भयो ।
त्यस्तै, कायापलटका संस्थापक अध्यक्ष दिवाकर उप्रेतीले नागरिक समाज संघसंस्थाहरुका अभियान र कार्यक्रमहरुमा युवा र बालबालिकाहरुको संलग्नता र सहभागिताले मानव अधिकार, जलवायु र लैङ्गिक न्यायसँग मुद्दालाई थप बलियो बनाएकोले मधेस प्रदेशमा मानव अधिकार, वातावरण र लैङ्गिक विषयमा छलफलहरु बढ्न थालेको र यसले सकारात्मकता तर्फ मार्ग निर्देशित गर्ने बताउनु भयो ।
युथ एड्भोकेसी नेपालका महासचिव विनय कार्कीले कानुनी हक अधिकारहरु, निर्मित नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन र अनुगमन गरी लैङ्गिक र जलवायुमैत्री विश्व बनाउन सकिने बताउनु भयो ।
यसैबीच, सोही दिन लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत एक कार्यक्रम बीच जनकपुरधामका नागरिक समाज र मानव अधिकारकर्मीहरुले पूर्व महिला अधिकारकर्मी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका मन्त्री अनिता देवि साहलाई सम्मान गरेको छ ।
