
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा रामदयाल माध्यमिक विद्यालय, कचन्दाहामा गठित बाल अधिकार सचेतना समूहले शम्भुनाथ नगरपलिका–३ डंग्राही मुसहरनिया टोलमा ०८० कात्तिक २४ गते सडक नाटक प्रदर्शन गरेको छ ।
बाल अधिकार सचेतना समूहले शिक्षा र बाल अधिकार क्षेत्रमा देखिएका असमानता तथा विभेद र बाल विवाह, महिला हिंसा तथा महिलाविरुद्ध हुने सबै किसिमका भेदभाव विरुद्ध जनचेतनामूलक सडक नाटक प्रदर्शन गरे । नाटकको माध्यमद्वारा बालबालिकाले असमान व्यवहार तथा विभेदले मानव जीवनमा पर्ने असरलाई चित्रण गरेका छन् । सडक नाटक प्रदर्शनले स्थानीयवासी र सरोकारवाला निकायहरूलाई जिम्मेवार र सचेत बनाउन ध्यानाकर्षण गरेको मानव अधिकार समूहका सदस्य देबीमाया भट्टराईले बताउनु भयो ।
आगामी दिनमा समेत विविध विषयमा जानकारी दिने गरी जनचेतनामूलक कार्यक्रमको आयोजना हुने अपेक्षा गर्दै गाउँलेहरुले प्रस्तुत सडक नाटकको प्रशंसा र कलाकार बालबालिकालाई धन्यवाद व्यक्त गरे । सडक नाटकका दर्शक चन्देश्वरी सदाले यस्ता कार्यक्रमबाट दलित समुदायमा सकारात्मक सोंचको विकास हुने विश्वास गर्नुभयो । यस्ता कार्यक्रममा सम्बन्धित बिद्यार्थीका साथै गाउँटोलका स्थानीयवासीको पनि सहभागिता भए थप फलदायी हुने सदाले सुझाव दिनुभयो ।
सडक नाटक प्रदर्शनमा बाल अधिकार सचेतना समूहका अध्यक्ष जयप्रकाश दास, लक्ष्मी मण्डल, सुर्य पाल, प्रिंयका गुप्ता, रोशन पाल, नितेश पासवान, चाँदनी सरदार, दिपिका चौधरी, गरिमा चौधरी, प्रदीप मण्डल, सपना साह, किरण शर्मा, लक्ष्मी सदा लगायतले आआफ्नो पात्रको भूमिका निर्वाह गर्नुभएको थियो ।
उक्त कार्यक्रममा मानव अधिकार समूहका सदस्य भट्टराईसहित संरक्षक शिक्षक अशोक कुमार साह, शिक्षक कालीप्रसाद चौधरी, समुदायका अगुवा तथा सप्तरी जिल्लाका सहजकर्ता अजय परियार लगायतको उपस्थिती रहेको थियोे ।
