मानवअधिकार सम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजना कार्यान्वयन प्रदेश परिषद् कोशीको बैठकले मानवअधिकार सवाललाई सबै गतिविधिसँग जोड्ने निर्णय गरेको छ ।
विराटनगरमा ०८० कात्तिक २२ गतेको बैठकले मानव अधिकारलाई प्रदेश र स्थानीय तहले गर्ने सबै गतिविधिसँग जोड्ने निर्णय गरेको परिषद्का संयोजक तथा कोशी प्रदेशका प्रमुख सचिव डाक्टर दीपक काफ्लेले बताउनु भयो ।
बैठकले कोशी प्रदेशका प्रत्येक मन्त्रालय र स्थानीय तहमा मानवअधिकार फोकल पर्सन तोक्ने निर्णय पनि गरेको छ । कोशी प्रदेशमा मानव अधिकार संस्कृतिलाई प्रवद्र्धन गर्ने निर्णय गरिएको संयोजक काफ्लले बताउनु भयो ।
प्रदेश सरकार र स्थानीय तहले मानवअधिकारको प्रवद्र्धन गरिरहेको भएपनि मानव अधिकारको पाँचौं राष्ट्रिय कार्ययोजनाले निर्धारण गरेको लक्ष्यलाई जोड्न नसकिएको कारण आगामी दिनमा प्रदेश सरकार र स्थानीय तहले गरेका गतिविधि मानवअधिकारमैत्री कोणबाट विश्लेषण गरिने बैठकबाट निर्णय गरिएको संयोजक काफ्लेले बताउनु भयो ।
अब, प्रदेश र स्थानीय तहले मानवअधिकारको पाँचौं कार्ययोजनालाई कार्यान्वनका लागि भूमिका निर्वाह गर्नका लागि स्थानीय तहलाई परिपत्र गरिने भएको छ ।
मानव अधिकारसम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयन प्रदेशस्तरीय समितिमा नागरिक समाजका तर्फबाट कोशी इन्सेक प्रदेश कार्यालय, विराटनगर सदस्यका रूपमा रहेको छ ।