२४ गते हुने निर्वाचनका लागि ८३ जना उम्मेदवारबाट माघ १० गते मनोनयनपत्र दर्ता भएको राससले जनाएको छ ।
निर्वाचन आयोगका अनुसार महिला समूहबाट २६, दलित समूहबाट १४, अल्पसङ्ख्यक/अपाङ्ग समूहबाट १५ र अन्य समूहबाट २८ जना उम्मेदवारले उक्त निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन् ।
उक्त निर्वाचनका लागि प्रदेश नं १ मा १२, प्रदेश नं २ मा नौ, प्रदेश नं ३ मा १७, प्रदेश नं ४ मा १२, प्रदेश नं ५ मा ११, प्रदेश नं ६ मा १२ र प्रदेश नं ७ मा १० जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।
राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि उच्च अदालत भएका जिल्लाका जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत तोकिएको छ भने तिनै जिल्लामा निर्वाचन केन्द्र तोकिएको छ । राष्ट्रियसभा सदस्यको ५६ पदका लागि हुने उक्त निर्वाचनका लागि २ हजार ५६ जना मतदाता कायम गरिएको छ ।
प्रदेश नं १ बाट १२ जनाको मनोनयन दर्ता
मोरङ
प्रदेश नम्बर १ मा नेकपा (माओवादी केन्द्र) बाट महिला सदस्यमा विना पोखरेल (मोरङ), नेकपा (एमाले)बाट महिला सदस्य नैनकला ओझा (मोरङ), खुल्लाबाट एमालेका हरिचरण शिवाकोटी (झापा), पर्शुराम मेघी गुरुङ (संखुवासभा), खड्गबहादुर बस्नेत (मोरङ) र अल्पसंख्यकमा अगम वान्तवा (इलाम) उम्मेदवार बनेका छन् ।

काङ्ग्रेसबाट खुल्लामा रमेशजङ्ग रायमाझी (मोरङ), महिलामा सरिता प्रसाईं (झापा), दलितबाट विनकुमार विश्वकर्मा (झापा) र अल्पसङ्ख्यकबाट महेश जाजुले सदस्य पदमा मनोनयन दर्ता गराएका मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत नवराज दुलालले बताए । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अल्पसङ्ख्यकमा अनुपमादेवी साह (मोरङ) को उम्मेदवारी परेको छ ।
महिला सदस्यमा माओवादी केन्द्रका विना पोखरेल, एमालेका नैनकला ओझा र काङ्ग्रेसका सरिता प्रर्साईंको मात्र उम्मेदवारी परेकाले तीनैजना निर्विरोध निर्वाचित भएका इन्सेक मोरङ प्रतिनिध ईन्दिरा भट्टराईले जनाएकी छन् ।
प्रदेश २ मा नौजनाको उम्मेदवारी
धनुषा
राष्ट्रियसभा सदस्यका लागि प्रदेश नं २ मा नौ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालय जनकपुरधामका अनुसार खुलातर्फनेपाली काङ्ग्रेसका जितेन्द्रनारायण देव, राष्ट्रिय जनता पार्टी नेपालका रमेशप्रसाद यादव, नेकपा (एमाले)का सुमनराज प्याकुरेल र नेपाल सङ्घीय समाजवादी पार्टीका मोहम्मद अख्तर हुसेनले उम्मेदवारी दर्ता गराएका छन् ।
महिला सदस्यतर्फ काङ्गे्रसका मुक्ताकुमारी यादव, सङ्घीय समाजवादी फोरम नेपालका प्रमिला यादव र नेकपा (माओवादी केन्द्र)का शशिकला दाहालले उम्मेदवारी दर्ता गराएका छन् ।
अल्पसङ्ख्यकतर्फ राष्ट्रिय जनता पार्टी नेपालका वृषेशचन्द्र लालले मात्र उम्मेदवारी दर्ता गराउनुभएको छ । दलिततर्फ सङ्घीय समाजवादी फोरम नेपालका रामप्रित पासवानले उम्मेदवारी दर्ता गराउएका छन् । प्रदेश नं २ मा प्रदेशसभा सदस्य १ सय ७ र स्थानीय तहका २ सय ७२ गरी ३ सय ७९ जना मतदाता छन् ।
प्रदेश नं ४ मा १२ जनाको उम्मेदवारी
कास्की
राष्ट्रियसभा सदस्यका लागि प्रदेश नं ४ मा आज चार वटा राजनीतिक दलबाट १२ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
राष्ट्रियसभाका लागि एउटा प्रदेशबाट आठ जना निर्वाचित हुने व्यवस्थाअनुसार नेकपा (एमाले) नेपाली काङ्ग्रेस, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाबाट १२ जनाको उम्मेदवारी परेको क्षेत्रीय निर्वाचन कार्यालय, पोखराका प्रमुख गङ्गालाल सुवेदीले जानकारी दिए ।
प्रदेश नं ४ का लागि राष्ट्रियसभा सदस्यमा नेकपा एमालेबाट रामबहादुर थापा (अपाङ्ग) शान्ति अधिकारी जिसी (महिला), गणेश तिमल्सिना (खुला) र दीपा गुरुङ (महिला)ले उम्मेदवारी दिएका छन् ।

नेपाली काङ्ग्रेसका तर्फबाट सुरेन्द्रराज पाण्डे (खुला), बृन्दा रानामगर (महिला), जीतबहादुर नेपाली (दलित) र प्रकाश पन्थ (अपाङ्ग)ले उम्मेदवारी दिएका छन् ।
त्यस्तै नेकपा माओवादी केन्द्रका तर्फबाट दीनानाथ शर्मा (खुला) र खीमकुमार विक (दलित) उम्मेदवारी दिएका छन् भने राष्ट्रिय जनमोर्चाका तर्फबाट मीना पुन (महिला) र कृष्णप्रसाद शर्मा अधिकारी (खुला)ले उम्मेदवारी दिनुभयो ।
प्रदेश नं ४ मा राष्ट्रियसभा सदस्यमा मतदान गर्नेको सङ्ख्या २ सय ३० जना रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
मनोनयन दर्ताको इन्सेक, राष्ट्रिय मानव अधिकार आयोगलगायतले पर्यवेक्षण गरेका समाचार इन्सेक जिल्ला प्रतिनिधि सङ्गीता भाटले जनाएकी छन् ।
प्रदेश ५ का लागि ११ जनाको उम्मेदवारी
दाङ
राष्ट्रियसभा सदस्यका लागि प्रदेश नं ५ बाट ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् । दाङको घोराहीमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेकपा (एमाले)बाट चार, नेपाली काङ्ग्रेसबाट चार, नेकपा (माओवादी केन्द्र) बाट दुई र राष्ट्रिय जनमोर्चाबाट एक गरी ११ जनाले मनोनयन दर्ता गरेको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिए ।
उनका अनुसार एमालेबाट खुल्लातर्फ रुपन्देहीका खिमलाल भट्टराई, महिलातर्फ दाङकी कोमल ओली र रोल्पाकी मीना बुढा तथा दलिततर्फ पश्चिम नवलपरासीका रामलखन चमारले उम्मेदवारी दर्ता गराएका छन् ।
काङ्ग्रेसबाट खुल्लातर्फ रुपन्देहीका दुर्गाप्रसाद उपाध्याय, महिलामा दाङका अनिता देवकोटा, दलितमा बाँकेका मैकुलाल वाल्मीकी र अपाङ्गमा रुकुम पूर्वका लुटबहादुर खत्रीले मनोनयन दर्ता गराएका छन् ।
माओवादी केन्द्रबाट खुल्लामा अर्घाखाँचीका चन्द्रबहादुर खड्का र अपाङ्गबाट रोल्पाका राजकुमार कुँवरले उम्मेदवारी दर्ता गराएका छन् भने राष्ट्रिय जनमोर्चाबाट रश्मीराज नेपालीले खुल्लामा दाङबाट उम्मेदवारी दर्ता गराएका छन् ।
सो प्रदेशबाट खुल्लातर्फ तीन, महिलातर्फ तीन, दलित र अपाङ्गतर्फ एक/एक गरी आठ जना राष्ट्रिय सभासदस्यमा निर्वाचित हुनेछन् ।
प्रदेश नं ६ मा १२ को उम्मेदवारी
सुर्खेत
राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश नं ६ बाट १२ जनाको उम्मेदवारी परेको छ । यस प्रदेशबाट राष्ट्रियसभाका लागि आठ सदस्य निर्वाचित हुनेछन् । राष्ट्रियसभा सदस्यका लागि नेपाली काङ्ग्रेसबाट चार, नेकपा (एमाले)बाट पाँच र माओवादी केन्द्रबाट तीन जनाको उम्मेदवारी परेको छ ।
मुख्य निर्वाचन अधिकृत मेदिनीप्रसाद पौडेलका अनुसार दलित सदस्यतर्फ दुई, महिला सदस्यतर्फ चार, अपाङ्ग/अल्पसङ्ख्यकतर्फ दुई र अन्यमा चार जनाको उम्मेदवारी परेको छ ।
काङ्ग्रेसबाट दलिततर्फ सल्यानका मित्रलाल सार्की, महिलातर्फ मुगुकी सूर्यदेवी मल्ल, खुल्लातर्फ कालीकोटका विष्णुबहादुर शाही र अपाङ्गतर्फ पश्चिम रुकुमका गोपालप्रसाद शर्माले उम्मेदवारी दर्ता गराएका छन् ।
एमालेबाट दलिततर्फ कालीकोटका नरपति लुवार, हुम्लाकी कविता बोगटी र सुर्खेतकी नन्दा चपाई, खुल्लातर्फ जाजरकोटका भैरवसुन्दर श्रेष्ठ र पश्चिम रुकुमका ठगेन्द्रप्रकाश पुरीले पनि उम्मेदवारी दर्ता गराएका ५न् ।
यस्तै माओवादी केन्द्रबाट महिलातर्फ मुगुकी युटुन तामाङ, खुल्लातर्फ जाजरकोटका कालीबहादुर मल्ल र अपाङ्ग/अल्पसङ्ख्यकमा कालीकोटका जीवन बुढाले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रियसभामा ६ नं प्रदेशबाट महिला तीन, अपाङ्ग/अल्पसङ्ख्यक एक, दलितबाट एक र अन्यबाट तीन जना निर्वाचित हुनेछन् ।
वारेसमार्फ उम्मेदवारी दर्ता
माओवादी केन्द्रबाट राष्ट्रियसभा सदस्यमा सिफारिश हुनुभएकी मुगुकी तामाङले हेलिकोप्टर नपाउँदा वारेसमार्फत उम्मेदवारी दिएका छन् । खराब मौसमका कारण हेलिकोप्टर नउडेपछि उहाँले वारेसमार्फत उम्मेदवारी दर्ता गराउनुभएको हो ।
तामाङले माओवादी केन्द्रका केन्द्रीय सदस्य मुगुका कालीबहादुर रावललाई वारेस राखेर उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
एमाले र माओवादी केन्द्रले भागबण्डाका आधारमा उम्मेदवारी दर्ता गराएका हुन् । केन्द्रको सहमतिअनुसार एमालेले पाँच र माओवादी केन्द्रले तीन उम्मेदवारलाई मैदानमा उतारेको छ ।
यही माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश नं ६ का नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा प्रदेशसभाका सदस्य गरी १ सय ९८ मतदाता रहेका छन् ।
प्रदेश ७ मा १० जनाको उम्मेदवारी, छ जना निर्विरोध
धनगढी
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश नं ७ मा १० जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालय डोटीका अनुसार अल्पसङ्ख्यक वा अपाङ्गतर्फ नेकपा (माओवादी केन्द्र)का महेशकुमार महरा र नेपाली काङ्ग्रेसका छत्रराज जोशी, दलिततर्फनेकपा (एमाले)का चक्रबहादुर स्नेही र काङ्ग्रेसका शेरीराम पार्कीले उम्मेदवारी दर्ता गराएका हुन् ।
यसैगरी खुल्लातर्फ काङ्ग्रेसका बद्रीप्रसाद पाण्डेय, एमालेका शेरबहादुर कुँवर र माओवादी केन्द्रका हरिराम चौधरी, महिलातर्फ एमालेकी इन्दु कडरिया र कमलाकुमारी ओली, काङ्ग्रेसकी तारादेवी भट्टले पनि आ-आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन अधिकृतको कार्यालयका प्रमुख नन्दीराज ओझाले जानकारी दिए ।
खुल्ला र महिलातर्फ तीन/तीन जनाको उम्मेदवारी परेकाले उनीहरू निर्विरोध निर्वाचित हुने देखिएको छ । यद्यपिको यसको आधिकारिक घोषणा हुन बाँकी रहेको छ ।
यसैगरी एक/एक जना निर्वाचित हुने अल्पसङख्यक वा अपाङ्ग र दलिततर्फ दुई/दुई जनाको उम्मेदवारी परेको छ । राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट आठ सदस्य निर्वाचित हुनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।