
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा शम्भुनाथ नगरपालिकास्थित जनता माध्यमिक विद्यालय रामपुर जमुवामा ०८० असोज २५ गते बालाधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण बैठक सम्पन्न भएको छ ।
नवगठित बाल अधिकार सचेतना समूहको अध्यक्षमा सन्तोषी कुमारी साह चयन हुनु भएको छ । बालअधिकार सचेतना समूहको बरिष्ठ उपाध्यक्षमा आकाश देव चौधरी, उपाध्यक्षमा करिना सरदार, सचिवमा रिशिका चौधरी, सहसचिवमा रूपेश चौधरी र कोषाध्यक्षमा कञ्चन कुमारी यादव चयन हुनु भएको संरक्षक शिक्षक सुनिल कुमार चौधरीले जानकारी दिनु भयो । कार्यक्रम व्यवस्थापनमा सुन्दर मुखिया र सल्लाहकारमा महिला शिक्षक निराशा कुमारी चौधरी रहनु भएको छ ।
कार्यक्रममा शम्भुनाथ नगरपालिकामा गठित मानव अधिकार समूह एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुलकित भगतले विद्यालयको काममा बाल समूहले र बाल समूहको हरेक काममा विद्यालयले सहयोग गर्नुपर्ने बताउनु भयो । समाजमा रहेका विभिन्न किसिमका बिसङ्गतीहरू हटाउन बालबालिका र अभिभावक मिलेर अगाडि बढ्नु पर्नेमा उहाँले जोड दिनु भयो ।
मानव अधिकार समूह सदस्य देबीमाया भट्टराईले बाल अधिकार सचेतना समूह गठनले बाल बालिकाहरूको क्षमता अभिवृद्धि भएको बताउनु भयो । आफू सचेत बनी समाज परिवर्तनमा भूमिका खेल्नका लागि शुभकामना दिनुहुँदै भट्टराईले पुनर्गठित बाल अधिकार सचेतना समूहलाई पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
संरक्षक शिक्षक सुनिल कुमार चौधरीले अधिकार र कर्तव्यलाई साथै लिएर हिंड्नु पर्ने भन्दै बालबालिकालाई बाल अधिकारको सुनिश्चितताका लागि अधिकारको माँग सँगै कर्तव्य निर्वाह गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा इन्सेक सहजकर्ता अजय परियारले बाल अधिकार सचेतना समूहको काम तथा शिक्षा, स्वास्थ्य, वातावरण, विभेदिकरण जस्ता कुरामा बालबालिकाको अधिकारबारे सहजिकरण गर्नुभएको थियो ।
बाल अधिकार सचेतना समूहले कार्ययोजना निर्माण गर्ने, विद्यालयमा हुने विभिन्न क्रियाकलापमा सहभागिता जनाउने, व्यक्तित्व विकासका विभिन्न कार्यक्रम गर्ने, शैक्षिक वातावरणमा सकारात्मक सहयोग गर्ने छ । इन्सेकले शिक्षा, स्वास्थ्य, जातीय विभेद, वातावरण लगायतका विषयमा शम्भुनाथ र डाक्नेश्वरीको विद्यालयहरूमा एक वर्षदेखि अभियान सञ्चालन गरी स्थानीय तह र स्थानीयवासीलाई सचेत बनाउँदै आएको छ ।
