इन्सेक र मानव अधिकार समूहको आयोजनामा भदौ २५ गते समस्या पहिचान तथा कार्ययोजना बैठक खजुरा गाउँपालिकामा सम्पन्न भएको छ ।
खजुरा गाउँपालिकामा शिक्षा ,स्वास्थ्य, वातावरण र विभेदसम्बन्धी समस्या पहिचान तथा कार्ययोजना तयार पारिएको हो ।
मानव अधिकार समूहले शिक्षा क्षेत्रका विद्यालयमा भएका अनिमियता, शौचालय, खानेपानी र विषयगत शिक्षक अभाव जस्ता समस्या पहिचान गरेका छन् ।
स्वास्थ्य क्षेत्रमा स्वास्थ्य सचेतनामा कमि , सरकारले दिने स्वास्थ्य सेवा बारे जानकारी नहुनु र वातावरणको क्षेत्रमा शौचालय नभएका कारण वातावरण दुर्घन्धित भएको, फोहोर व्यवस्थापन हुन नसकेको, स्थानीय तहले वातावरणसम्बन्धी कानुन बनाउन नसकेको, शुद्ध खानेपानीको व्यवस्था प्रयोग गर्न नपाउने जस्ता समस्या पहिचान गरेका थिए ।
यसैगरी, विभेदविरूद्ध घरेलुहिंसा र जातीय विभेद सम्बन्धी सचेतनामा कमि भएका कारण समाजमा घटनाहरू भइरहेको समस्या पहिचान भएको मानव अधिकार समूहकी संयोजक कौशीकी यादवले बताउनु भयो ।
समस्या समाधानका लागि वातावरण सम्बन्धी कानुुन बनाउन डेलिगेसन जाने, शुद्ध खानेपानी र शौचालय नभएका नभएका घरधुरी सर्बेक्षण गर्ने, अभिभावक विहीन बालबालिकाको तथ्याङ्क सङ्कलन गर्ने, विद्यालय, स्वास्थ्य चौकीमा अनुगमन गर्ने, हिंसामा परेका महिला बालबालिकालाई सहयोग गर्ने र गाउँपालिकासँग समन्वय सहकार्य गर्ने गरी कार्ययोजना बनाएको समूहकी सचिव प्रतिक्षा निरौलाले जानकारी दिनुभयो ।
कार्यक्रमका खजुरा गाउँपालिका अध्यक्ष डम्बरबहादुर बिकले मानव अधिकार उलङ्घनका घटना बढीरहेको प्रति चिन्ता व्यक्त गर्दै समुदायमा भएका समस्याहरूलाई सरोकारवाला निकाय समक्ष ल्याएर मानव अधिकार समूहले सहयोग गरिदिन आग्रह गर्नु भयो ।
बिकले कानुनको सदुपयोग र मानव अधिकार सुनिश्चित गर्न मानव अधिकार समूहले पुलको काम गर्नेे साथै स्थानिय तहले समस्या समाधानका लागि छलफल, संवाद र कानुन बनाएर भए पनि समाधान गर्ने प्रतिबद्धता गर्नु भयो ।
इन्सेका साधारण सदस्य कृष्णमुरारीप्रसाद भट्टले इन्सेकले निरन्तर मानव अधिकारको वकालत गरिरहेको बताउदै स्थानीय तहसँगको सहकार्यमा समूदायमा भएका समस्या समाधानका लागि सहकार्य गर्ने बताउनु भयो ।
