INSEC Online

📅 २०८३ जेष्ठ २१

पातो बजारमा जनचेतनामुलक सडक नाटक प्रदर्शन

Pato (3)

स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने उदेश्यले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजनमा असार २७ गते डाक्नेश्वरी नगरपालिका–५ पातो बजारमा जनचेतनामुलक सडक नाटक प्रदर्शन भएको छ ।

इन्सेकद्वारा गठित बाल अधिकार सचेतना समूहका विद्यार्थीहरूले जिवन्त अभिनय गर्दै जनचेतनामुलक सडक नाटक प्रदर्शन गरेका हुन् ।
बाल विवाह, दाइजो प्रथा, महिलामाथि हुने हिंसा जस्ता गतिविधिले समाजमा अपराध जन्माउने स्थानीयवासीको तर्क छ । सानै उमेरमा गरिने विवाहले समाजलाई नै अहित गर्ने भएकोले सडक नाटकले बाल विवाह न्यूनिकरणमा सहयोग पुग्ने स्थानीयवासीले बताए ।

स्थानीय लाल मोहम्मद राइनले समाजको प्रतिनिधित्व गर्ने काल्पनिक घटनाको नाटकीय प्रदर्शनले बाल विवाहबाट समाजमा पर्ने नकारात्मक असरका बारेमा सन्देश दिएको बताउनु भयो । पातोका गोबिन्दा साहले नाटकको कथावस्तुले तराई–मधेसको समाजको चित्रण गरेको बताउनु भयो ।

इन्सेक प्रदेश संयोजक राजु पासवानले प्रत्यक्ष लक्षित वर्गकै अगाडि बसेर नाटक मञ्चन गर्दा सन्देश प्रभावकारी हुने बताउनु भयो । पासवानले बाल विवाह, दाइजो प्रथा, छुवाछुत, लैङ्गिक हिंसा लगायतका महिला तथा बालबालिका माथि हुने अपराध विरुद्ध सचेतना फैलाउन सडक नाटक उपयोगी रहेको बताउनु भयो ।

सन्देशमूलक नाटक मैथिली भाषामा नै भएका कारण सहभागीले निक्कै चाख मानेर हेरे । बाल अधिकार सचेतना समूहले अभिनय गरेको सडक नाटक हेर्न पातो बजार पुगेका नजिकको बनौला, ब्रह्मपुर, अमरलत्तीका सयौंको संख्यामा महिला पुरुषहरुको उपस्थिति रहेको थियो ।

Pato (2) Pato (1)

अन्य

भिडियो