अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय मानव अधिकार समुह सञ्जाल पुस १४ गते गठन गरिएको छ ।
इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले मानव अधिकार रक्षकहरुको संरक्षण, सम्बद्र्धनका लागि स्थानीय स्तरमा रहेको मानव अधिकार समुहबाट छनौट गरेर प्रदेशस्तरीय मानव अधिकार समुह सञ्जाल गठन गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नु भयो–‘गठन गरिएका मानव अधिकार समुह तथा सञ्जालले प्रदेश तथा स्थानीय स्तरमा रहेको स्थानीय तहले निर्माण गरिएका कानुनको कार्यान्वयन गराउन तथा नीति तथा कार्यक्रमको अनुगमन गरी खबरदारी गर्न मानव अधिकार समुह कृयाशिल हुनु पर्छ ।’
बेलौरी नगरपालिकास्तरीय मानव अधिकार समुहका संयोजक गोबिन्द सापकोटाले प्रदेश र स्थानीय तहसँग मिलेर कार्यक्रम गर्न तथा मानव अधिकार समुहले गरेका कामको अनुभव आदान प्रदान गर्न सञ्जाल गठन गर्न आवश्यक रहेको बताउनु भयो ।
घोडाघोडी नगरपालिकास्तरीय मानव अधिकार समुहकी संयोजक सावित्री आचार्यले गठन गरिएका समुहलाई स्थानीय तहसँग समन्वय गराई दर्ता गरी कार्यक्रम संञ्चालन गर्न इन्सेकले प्राविधिक सहयोग गर्नु पर्ने बताउनु भयो ।

उक्त कार्यक्रममा नौ सदस्यीय प्रदेशस्तरीय मानव अधिकार समुह सञ्जालमा संयोजकमा सावीत्रा आचार्य, उपसंयोजमा गोविन्द सापकोटा, सचिवमा कैलश पनेरु र सदस्यमा कमला चौधरी, नरदिप धामी, रुपेश खरेल, सोमनाथ राना, मानबहादुर चौधरी, ,भनुमति राना रहनु भएको छ ।