INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२३ का लागि जिल्लामा अभिलेख गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको पूर्व वार्षिक समीक्षा कार्यक्रम पुस ११ गते महेन्द्रनगरमा सम्पन्न भएको छ ।

सन् २०२२ को जनवरीदेखि डिसेम्बरसम्मको अवधिमा अभिलेखीकरण गरिएका ३ सय ३७ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरुको समीक्षा गरिएको हो ।

जिल्लामा संकलित ३ सय ३७ ओटा घटनामध्ये घरेलु हिंसाका २ सय ७२ ओटा, हत्याका चार,  बलात्कार र यौन दुव्र्यहारका ३७, कुटपिटका चार, मानव बेचबिखनका दुई, बहु विवाहका चार, कथित बोक्सीका एक, गैर कानुनी गिरफ्तारीका तीन, झडप तथा कुटपिटका चार र जातिय विभेदका एक ओटा घटना रहेको तथ्यांक समीक्षा कार्यक्रममा प्रस्तुत गरिएको थियो ।

photo20221226kanchanpur (2)

अधिवक्ता उद्धवराज भट्टले इन्सेकको प्रतिवेदन र कामप्रति प्रशंशा गर्दै घटना अभिलेखीकरणमा प्रयोग गरिने भाषामा सुधार गर्नु पर्ने सुझाव दिनु भयो ।

उहाँले मानव अधिकार उल्लङ्घनका घटनाहरुको अभिलेखीकरणले पीडकलाई कानुनको दायरामा ल्याउन र पीडितलाई न्याय दिन सहयोग पुगेको बताउनु भयो ।

उच्च बार एशोसियसनका अध्यक्ष यज्ञराज जोशीले मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाका पीडितहरु जसको पहुँच न्यायको ढोकासम्म पुग्दैन त्यस्ताहरुको आवाजलाई पनि समेटिनु पर्ने र उनीहरुलाई पनि आर्थिक रुपमा सबल बनाउन इन्सेकले पहल गर्नु पर्ने सुझाव दिनु भयो ।

ग्रामीण क्षेत्रमा मानव अधिकार उल्लङ्घनका घटना बढी हुने हुनाले स्थलगत अध्ययन गर्नु गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न र  इन्सेकले अभिलेख गर्ने घटनाहरुमा आरोपितहरुको नाम पनि गोप्य राख्नु पर्ने सुझाव दिनु भयो ।

जिल्ला प्रहरी कार्यालय महिला सेलका इन्स्पेक्टर बिनु शाहीले पीडितहरुलाई न्याय प्रदान गर्न प्रहरी सदैव लागि रहेको र आगामी दिनहरुमा पनि सरोकारवाला पक्षहरुसँग समन्वय  गरी पीडितहरुको न्यायका पक्षमा कार्य गर्ने प्रतिवद्धता जाहेर गर्नु भयो ।

photo20221226kanchanpur (1)

नागरिक समाजका सचिव कोमल निरञ्जन भाटले जिल्लाका सम्पूर्ण स्थानीय तहलाई मानव अधिकारमैत्री बनाउनुका साथै उपप्रमुखहरुसँग समन्वय गरी योजना निर्माण गर्नु पर्ने र इन्सेकले वर्ष पुस्तकलाई परिमार्जित र व्यवस्थित बनाउँदै लैजानु पर्ने बताउनु भयो ।

इन्सेकले मानव अधिकार उल्लंङ्घनका घटना अभिलेख गरेर सरकार तथा स्थानीय सरोकारवालाहरुलाई खबरदारी गराउने कार्य सराहनीय रहेको जिल्ला कारागारका नासु रमेश भट्टले बताउनु भयो ।

कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, नागरिक समाजका अगुवा, पत्रकार, प्रहरी र सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

अन्य

भिडियो