हिमालपारीको जिल्ला मुस्ताङको जिल्ला अस्पताल पछिल्लो दुई वर्ष देखि एम्बुलेन्स बिहीनको अवस्थामा रहेको छ । मुस्ताङको जोमसोममा आयोजित मानवअधिकार वर्ष पुस्तक–२०२३ को पूर्व समीक्षा कार्यक्रममा जिल्ला अस्पताल मुस्ताङका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर बिशाल तिवारीले उक्त कुरा बताउनुभएको हो ।
अनौपचारीक क्षेत्र सेवा केन्द्र(इन्सेक)ले आयोजना गरेको वर्ष पुस्तक पूर्व समीक्षा कार्यक्रममा डा.तिवारीले जिल्लाको एक मात्रै अस्पतालमा बिरामीका लागि अत्यावश्यक रहने एम्बुलेन्स समेत नभएको बताउनुभयो ।
दुई वर्ष अगाडी बिग्रेको एम्बुलेन्स मर्मत गर्न तथा सञ्चालन गर्न सकिएको छैन । १८ जनाको दरवन्दी रहेको मुस्ताङ अस्पतालमा अहिले ९ जना कार्यरत रहेका छन् । अस्पतालको भौतिक पूर्वाधार, जनशक्ति एवम् बजेटकै कारणले गर्दा पनि मुस्ताङ अस्पतालले समस्या झेल्नु परी रहेको डा.तिवारीको भनाई थियो ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले मुस्ताङ जिल्लामा मानवअधिकार रक्षाका लागि सबै लागि परेको बताउनुभयो । राज्यका निकाय तथा आम नागरिकले आ–आफ्नो क्षेत्रबाट मानवअधिकार रक्षाका लागि भूमिका खेलेको हुँदा मावनअधिकार उल्लंघनका घटनाहरु मुस्ताङमा नहुने बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका डिएसपी रबिन्दुनाथ पौडेलले मुस्ताङ जिल्लामा सुचनाहरु पारदर्शी रहेको बताउनुभयो । उहाँले जिल्ला भित्र कुनै पनि प्रकारका मानवअधिकार उल्लंघनका कार्य नभएको बताउँनु भयो ।
जोमसोमका होटल व्यवसायी आइता थकालीले जिल्ला भित्र बालश्रमिकहरुको प्रयोग नभएको बताउनुभयो । कुनै पनि होटल व्यवसायीले आफ्नै घरको बालिबालिकाले सहयोग गर्ने बाहेक अन्य कुनै पनि तवरबाट बालश्रमिक प्रयोग गरेको आफ्नो जानकारीमा नरहेको उहाँको भनाई थियो ।
कारागार कार्यालय मुस्ताङका जेलर भगवानलाल साहले मुस्ताङ कारागारमा २५ जना क्षमता रहेकोमा ७ कैदी र ५ बन्दी गरी १२ जना रहेको बताउनुभयो । भौतिक पूर्वाधारको समस्या रहेको कारागारमा खेलकुद सामग्री क्यारमबोर्ड र लुडो बाहेक अरु सम्भव नै नदेखिएको र भौतिक पूर्वाधार प्रयाप्त नहुँदा कैदी बन्दीलाई हट रुम बाहेक अन्यत्र घाम ताप्नका लागि समेत निकाल्न मुस्कील रहेको बताउनुभयो ।
इन्सेक जिल्ला प्रतिनिधिले सन २०२२ मो अभिलेख गरेका घरेलु हिंसा सम्बन्धी ४ र बलात्कार सम्बन्धी ४ गरी ८ वटा घटनाका बारेमा जानकारी गराउनु भएको थियो ।
इन्सेक म्याग्दीका प्रतिनिधि अमृत बास्कुनेले सञ्चालन गरेको कार्यक्रममा नारायणदल गणका प्रमुख सेनानी इन्द्रराज गुरुङ, सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक यज्ञमान साउद, घरपझोङ गाउँपालिकाका प्रतिनिधि, सरकारी वकिल कार्यालयका प्रतिनिधि नागरिक समाजका अगुवा लगायतको उपस्थीति रहेको थियो ।
