INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक– २०२३ प्रकाशन पूर्व समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)  पाल्पाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक– २०२३ प्रकाशन पूर्व समीक्षा कार्यक्रम पुस ६ गते तानसेनमा सम्पन्न भएको छ ।

जिल्लामा भएका मानव अधिकार उल्लङ्घन र मानव अधिकारसँग सरोकार भएका घटनाहरूको पृष्ठपोषण तथा सुझाव सङ्कलनकालागि वार्षिक समीक्षा गरिएको हो ।

कार्यक्रममा इन्सेक पाल्पा जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाले सन् २०२२ को अवधिमा मानव अधिकार सँग सम्बन्धित ७६ वटा घटनाहरू प्रस्तुत गर्नु भयो । जसमध्ये बालिका बलात्कार र यौन दुर्व्यवहारका १०, महिला बलात्कार र बलात्कार प्रयासका १०, राजनीतिक तथा नागरिक अधिकारका  चार, महिला हत्या एक, जातीय विभेद तथा एक र घरेलु हिंसाका ५० वटा घटनाहरू रहेका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले इन्सेकले हरेक वर्ष नेपाल मान वअधिकार वर्ष पुस्तक मार्फत मानव अधिकार अवस्थाको बिषय उठान गर्दै आएको बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले इन्सेकले समय समयमा गर्ने यस प्रकारको कार्यक्रम मार्फत जिल्लाको मानव अधिकार अवस्थाबारे छलफलको वातावरण बनेको बताउनु भयो । प्रमुख जिल्ला अधिकारी पन्तले सरकारी निकाय र नागरिक समाजसँगको सहकार्यमा मात्र मानव अधिकारमैत्री समाज निर्माण गर्न सकिने धारणा राख्नु भयो ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी बिरेन्द्र थापाले पछिल्लो समय पाल्पामा आत्महत्या चुनौती बन्दै गइरहेकोले आत्महत्या न्यूनीकरणको पहल हुनु पर्नेमा जोड दिनुभयो ।

शिक्षा विकास तथा समन्वय इकाई पाल्पाका प्रमुख महेन्द्र सुवेदी, युनाइटेड मिसन अस्पतालका प्रशासकीय अधिकृत जीवन भट्टराई, मिसन अस्पतालका सामाजिक विकास शाखा प्रमुख पुननारायण श्रेष्ठ, पाल्पा अस्पतालका प्रतिनिधि सुशिल ज्ञवाली, पत्रकार किरण कौशल, प्रेस चौतारी पाल्पाका अध्यक्ष कृष्ण कार्की, नवराज ज्ञवाली, मानव अधिकार रक्षक सञ्जाल पाल्पाका अध्यक्ष भगवान भण्डारीलगायतले आफ्नो धारणा राख्नु भएको थियो ।

photo2022122201palpa

अन्य

भिडियो