INSEC Online

📅 २०८३ जेष्ठ २१

वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व जिल्लामा वार्षिक समीक्षा कार्यक्रम मङ्सिर २९ गते सम्पन्न गरिएको छ ।

सन् २०२२ को जनवरीदेखि नोभेम्वरसम्म इन्सेकले जिल्लामा नेपाल मानव अधिकार वर्ष पुस्तकका लागि अभिलेखीकरण गरेको मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि सरोकारवालाबिच समीक्षा गरिएको हो ।

इन्सेक अभिलेखका आधारमा जिल्लामा बालिका बलात्कारको अवस्था भयावह छ । इन्सेक अभिलेखका आधारमा जिल्लामा ११ महिनाको अवधिमा १४ जना बालिका बलात्कृत घटनामा पीडित भएका छन् । चार वर्षदेखि १८ वर्ष सम्मका बालिका पीडित छन् ।

जिल्लामा यस वर्ष राज्यपक्षबाट चार ओटा गिफ्तारीका घटना र गैरराज्य पक्षबाट ३६ ओटा गरी ४० ओटा घटना अभिलेख गरिएको छ ।

इन्सेक तथ्याङ्कमा बालिका बलात्कार १३ ओटा, महिला वलात्कार प्रयास एक ओटा, घरेलु हिंसाका चार ओटा, हत्याका आठ ओटा, कुटपिट एक ओटा, बहुविवाह पाँच ओटा, महिला र बाल यौन दुव्र्यवहार तीन ओटा, हत्या प्रयास दुई ओटा छन् ।

घटनामा १७ देखि ५१ वर्ष उमेर समूहका पीडक र चारदेखि ७० वर्ष उमेर समुहका महिला पीडित छन् । प्राय जसो महिला र बालिकाहरू आफ्नै दाई, भाई, आफन्त नजिकका छिमेकी र नातेदारबाट पीडित भएको अभिलेख छ ।

प्रतिवेदनमा जिल्ला कारागारमा क्षमता भन्दा झण्डै तेब्बरको सङ्ख्यामा कैदीबन्दीहरू रहेको, बाल सुधार गृह नभएका कारण १८ वर्ष भन्दा कम उमेर समुहका आरोपितहरुलाई जिल्ला प्रहरी कार्यलयकै हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने जटिलता रहेको, जिल्लाका अधिकांश सरकारी कार्यालयहरू अपाङ्गतामैत्री नभएको, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्य समुदायका नागरिकले आफ्नो पहिचानसहित आफ्नो बारेमा बाहिर आएर कुरा राख्न सक्ने वा आफ्नो परिचय दिन सक्ने अवस्था नरहेको इन्सेकले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।

समीक्षा कार्यक्रममा प्रस्तुत गरिएको तथ्याङ्क र जिल्लाको मानव अधिकारको बिषयमा सहभागी सरोकारवालाहरूले प्रहरी तथा अदालत समक्ष आउन नसकेका घटनाहरुलाई समेत इन्सेकले अभिलेख गर्नुपर्ने, सामाजिक, सांस्कृतिक तथा आर्थिक अधिकारका बिषयमा आवाज उठाउनुपर्ने लगायतका सुझाव दिएका छन् ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जर्नाधन गौतम, जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर जसबहादुर लिम्बु, गैसस महासंघ उदयपुरका सचिव सन्तोष बस्नेत, नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्का, गैसस महासंघ प्रदेश १ का उपसचिव सुमन परियार, ओरेक नेपालकी बालिका कार्की, महिला मानव अधिकार रक्षक संजालकी अध्यक्ष माया भण्डारी, मानव अधिकार सञ्जालकी केन्द्रीय सदस्य देवी कटुवाल, मानव अधिकार एलाइन्स उदयपुरका अध्यक्ष माधव पराजुली, संगम सामुदायिक पुस्तकालयका अध्यक्ष भरत खड्का लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, मानवअधिकारकर्मी, नागरिक समाजका अगुवा, सञ्चारकर्मी लगायतको उपस्थिति थियो ।

Photo 20221215 Udayapur (1)

Photo 20221215 Udayapur (2)

Photo 20221215 Udayapur (3)

Photo 20221215 Udayapur (4)

Photo 20221215 Udayapur (6)

अन्य

भिडियो