INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठि असार १५ गते बीरगंजमा सम्पन्न गरिएको छ ।

जिल्लामा पछिल्लो ६ महिनाको अवधिमा अभिलेख गर्नु भएको मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ३३ ओटा घटना प्रतिवेदन इन्सेक पर्सा प्रतिनिधि कृष्णचन्द्र लामिछानेले प्रस्तुत गर्नु भएको थियो ।

बालिका बलात्कारका नौ, यौन दुर्व्यवहारका दुई, महिला बलात्कारको एक, बलात्कार प्रयासका दुई, हत्याका पाँच, ‘बोक्सी’ आरोपको एक, बेचबिखनका दुई, कुटपिटका दुई र बहुविाहका नौ ओटा घटना अभिलेख गरिएको लामिछानेले बताउनु भयो ।

गोष्ठीमा पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले नेपाल मानव अधिकार वर्ष पुस्तक तथ्यमा आधारित भएर प्रकाशन  हुँदै आएको बताउनु भयो ।

घटनाको समीक्षा गर्दा तथ्यपूर्ण घटनाको सङ्कलन हुने र राज्यका जिम्मेवार निकायहरुलाई खबरदारी समेत गरिएको उहाँको भनाई थियो ।

कार्यक्रममा सहभागीले उठाएका प्रश्नको सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी ढकालेले अङ्गिकृत नागरिकता पाएकाका सन्ंतान र कुमारी आमाको नामबाट नागरिकता प्राप्त गर्ने विषयमा संसदमा छलफल चलिरहेको बताउँदै त्यसले दिने निश्कर्षका आधारमा मात्र के हुन्छ भन्न सकिने बताउनु भयो ।

उहाँले बालश्रमको न्यूनीकरणका विषयमा चर्चा गर्दा महिला तथा बालबालिका कार्यालयको खारेजी ठुलो गल्ती भएको बताउनु भयो ।

स्थानीय तहमा महिला बालबालिका ज्येष्ठ नागरिकको समस्याको हल गर्ने गरी संरचना भएपनि त्यसले प्रभावकारी काम गर्न नसकेको उहाँको भनाई छ ।

सेवाग्राहीले प्रमुख जिल्ला अधिकारीको कार्यालयमा आफ्ना समस्या लिएर आउने गरेकोले आफूले यस्तो अनुभव गरेको भन्दै महिला तथा बालबालिका कार्यालय पुनर्स्थापित हुँदा  राम्रो हुने उहाँको तर्क थियो ।

जिल्ला प्रहरी कार्यालय पर्साका एसपी रमेश बस्नेतले समाजको विकाससँगै अपराधको विकास भएकोले अपराधीलाई दण्ड दिन कानुनको निर्माण भएको बताउनु भयो ।

उहाँले नाबालिक उमेरमा भाग्ने खोजेर ल्याउँदा अभिभावकले बलात्कारमा मुद्दा चलाउने प्रवृत्ति रहेको बताउन भयो ।

सबै कुरा राज्य संयन्त्रले पुरा गर्न नसक्ने एसपी बस्नेतले उल्लेख गर्नु हुँदै प्रहरीका सबै युनिटले जनचेतना जगाउने काम गरिरहेको जानकारी दिनु भयो ।

इन्सेकले वाच डगको रुपमा झक्झक्याउने काम गर्दै आएको उल्लेख गर्नु हुँदै उहाँले इन्सेकसँग आफूहरुले पनि सहकार्य गर्दै आएको जानकारी दिनु भयो ।
photo20220630parsa (1)

photo20220630parsa (2)

अन्य

भिडियो