अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा प्रकाशन हुने ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३’ को लागि सन् २०२२ को जनवरीदेखि जुन १५ सम्म जिल्लामा सङ्कलित मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम असार ३ गते ओखलढुङ्गामा सम्पन्न गरिएको छ ।
जिल्लामा सन् २०२२ को प्रथम ६ महिनाको अवधिमा ३० ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेख भएको इन्सेक जिल्ला प्रतिनिधिले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।
जसमध्ये बलात्कार र बलात्कार प्रयासका सात ओटा, बाल यौन दुव्र्यवहारका पाँच ओटा, घरेलु हिंसा ११ ओटा, दुई ओटा हत्या र नागरिक तथा राजनितिक अधिकारका पाँच ओटा घटना इन्सेकले अभिलेख गरेको छ ।
जिल्लाको मानव अधिकारको अवस्थाबारे भएको छलफलमा सहभागीहरूले पछिल्लो समय जिल्लामा बलात्कार र बलात्कार प्रयासका घटनामा बृद्धि भएको भन्दै यसको न्यूनीकरणमा लागि पर्नुपर्नेमा जोड दिएका छन् ।
प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ्गले इन्सेकले मानव अधिकारको क्षेत्रमा खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै मानव अधिकारको क्षेत्रमा सबैको समन्वय र सहकार्यमा काम गर्नुपर्ने बताउनु भयो ।
सिद्धिचरण नगरपालिकाका नगरप्रमुख तेजेन्द्र खनालले जिल्लामा मानव अधिकारको क्षेत्रमा इन्सेकले राम्रो काम गरेको भन्दै मानव अधिकार रोकथाम र नियन्त्रणमा आफूहरूको पनि सहकार्य रहने बताउनु भयो ।
कार्यक्रममा सहभागी पत्रकार कुम्भराज राईले इन्सेक अभिलेखका आधारमा पनि जिल्लामा बलात्कारका घटना पहिले भन्दा बढेको पाइएकोले घटना के कारण बढ्यो भन्ने विषयमा खोजी गर्नुपर्ने सबैको दायित्व रहेको बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा मानव अधिकारको क्षेत्रमा सम्बन्धित निकायका प्रमुख, सरकारी प्रतिनिधि, स्थानीय सरकार, प्रहरी प्रशासन, अधिकारकर्मी, सञ्चारकर्मी पत्रकार, बुद्धिजीवी लगायतको सहभागिता रहेको थियो ।





