INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गरुडामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि अभिलेखित घटानहरुको पुष्टि तथा पुनःपुष्टिका लागि अर्धवार्षिक समीक्षा सम्पन्न गरिएको छ ।

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि कोपिला तिमल्सिनाले ०७८ पुस १७ गतेदेखि ०७९ वैशाख मसान्तसम्म अभिलेख गर्नु भएको मानव अधिकार उल्ङ्घन तथा ज्यादतीका ३० ओटा घटना प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

जिल्लामा अभिलेखित घटनामा बहुविवाहका चार, दाइजोका एक, बलात्कारका १०, बलात्कार प्रयासका एक, कुटपिटका एक, हत्याका तीन, ‘बोक्सी’को आरोप एकलगायतका छन् ।

उहाँका अनुसार अभिलेखित ३० घटनामा पीडितको सङ्ख्या ३७ रहेको छ भने आरोपति ५६ जना रहेका छन् ।

कार्यक्रममा दलित अधिकारकर्मी सोनेलाल रामले बाँच्न पाउने अधिकार तथा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको सहज पहुँचबाट दलित तथा विपन्न समुदाय वञ्चित रहेको बताउन भयो ।

दलित अभियन्ता प्रभाकुमारी रामले मानव अधिकारका घटनामा सामुहिक आवाज नउठेका कारण दलितमाथि एकपछि अर्को हिंसाका घटना भइरहेको बताउनु भयो ।

कार्यक्रममा सहभागी कुन्तीदेवी साहले घरेलु हिंसामा महिला बढी पीडित हुने गरेको र उक्त घटनामा मिलापत्र गराएका कारण पुनः घरेलु हिंसा पीडित महिला थप हिंसामा पर्ने गरेको बताउनु भयो । घरेलु हिंसा पीडित महिलालाई सुरक्षित आवासको व्यवस्था आवश्यक रहेको उहाँले जोड दिनु भयो ।

मानव अधिकार समूह गरुडाका सचिव अमर मण्डलले मानव अधिकार संविधानको मौलिक हकमा व्यवस्था भएकोले उक्त अधिकार प्राप्त गर्न पाउनु नागरिकको नैर्सगिक अधिकार भएको बताउनु भयो ।

मानव अधिकारको घटनामा कुनैपनि व्यक्ति हिरासतमा हुँदा केहि सूचनाको लागि जाँदा प्रहरी प्रशासनले धेरैजसो सूचना नदिने गरेको उहाँको गुनासो थियो ।

कार्यक्रमका सहभागी प्रमोद रामले जसको अधिकार उसैको सवाल रहेमा मात्र देश विकास हुने र सबैले सहज अधिकार प्रयोग गर्न पाउने बताउनु भयो ।

इलाका प्रहरी कार्यालय गरुडाका इन्स्पेक्टर रामराजा केशरीले पीडितको न्यायको लागि प्रहरीले काम गरिरहेको बताउनु भयो ।

प्रहरीले कुनैपनि घटनाको सार्वजनिक गर्न, निश्चित समय वा नियम हुने हुनाले जसले जतिबेला, जाँहा पनि सूचना माग्ने र दिने भन्ने हुदैन, त्यसको नियममा रहेर आउन र त्यसका लागि आफूले सहज बनाउने प्रतिबद्धता जनाउनु भयो ।

कार्यक्रमका गरुडा नगरपालिकाका नगर उपप्रमुख पुनम कुमारी चौधरीले नागरिकको समस्या समाधानका लागि आफू सधै साथमा रहने प्रतिबद्धता जनाउनु भयो ।

केही घटनाको न्यायको लागि छलफल गर्ने स्थानीय न्यायिक समिति तथा प्रमुख व्यक्तिको नाताले आफू सधै न्यायको पक्षमा रहने प्रतिबद्धता उहाँले जनाउनु भयो ।
photo20220617rautahat (1)

photo20220617rautahat (2)

photo20220617rautahat (3)

अन्य

भिडियो