INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार संरक्षण सञ्जालद्वारा शिक्षा र स्वास्थ्यमा अनुगमन

इन्सेकको सहजिकरणमा गठन भएको मानव अधिकार संरक्षण सञ्जाल रामेछापले जिल्लाका विभिन्न शिक्षण संस्था तथा स्वास्थ्य संस्थाको अनुगमन गरी सुझाव  दिएको छ ।

सञ्जालले ०७९ जेठ २७ गते लिखुतामाकोसी गाउँपालिकाको खिम्ती प्राथमिक स्वास्थ्य केन्द्र, मन्थली नगरपालिका–१३ को श्री मावि हर्रे चिण्डे, वडा नं १४ को हरिसिद्धि मावि फुलासी तथा स्वास्थ्य चौकी फुलासीको अनुगमन गरेको हो ।

सञ्जालका संयोजक पाण्डव प्रसाईँको नेतृत्वमा इन्सेक जिल्ला सहजकर्ता एवम् प्रतिनिधि सहित गएको टोलीले विद्यालय तथा स्वास्थ्य संस्थाको अनुगमन पछि शिक्षक तथा कर्मचारी छलफल गरेको थियो ।

छलफलका क्रममा स्वास्थ्य संस्थामा सरकारले तोकेको निःशुल्क औषधि समेत नियमित उपलब्ध नभएको प्राथमिक स्वास्थ्य केन्द्र खिम्तिका प्रमुख डा. विवेक कर्णले जानकारी दिनुभयो ।

यसैगरी एक्स–रे लगायतका उपकरण बिग्रिएकाले बिरामीको जाँच गर्न समस्या भएको उहाँले बनाउनुभयो ।

स्वास्थ्य चौकी फुलासीका हेल्थ असिस्टेन्ट दीपक बोहोराले भने सरकारले उपलब्ध गराएका निःशुल्क औषधि बाहेक अति आवश्यक औषधिको स्वास्थ्य संस्थाले नै व्यवस्थापन गर्ने गरेको बताउनुभयो ।

मावि हर्रेचिण्डेकी सूचना अधिकारी यशोधा चौहानले दुई जना मावि शिक्षकको भरमा विद्यालय चलाउनु पर्ने बाध्यता रहेको बताउनुभयो ।

हरिसिद्धि मावि चोकीघर फुलासीका शिक्षक समशेर थापाले विद्यालयमा कम्पाउण्ड नहुँदा कक्षा कोठामा नै गाई बस्तु तथा बाख्रापाठ पस्ने समस्या रहेको बताउनुभयो ।

विज्ञान प्रयोगशाला, पुस्तकालय तथा पाठ्य सामाग्री नहुँदा प्राविधिक विषय पठनपाठनमा समस्या भएको उहाँले बताउनुभयो ।

सञ्जालको तर्फबाट संयोजक पाण्डव प्रसाईँले भएकै साधन स्रोतका बीचमा पनि प्रभावकारी सेवा प्रवाह गर्नु पर्नेमा जोड दिनुभयो ।

शिक्षा, स्वास्थ्य, खाद्य जस्ता विषय मानव अधिकारका विषय भएकोले यसमा सेवा प्रदायक गम्भीर हुनु पर्ने उहाँले बताउनुभयो ।

285352630_5028576633844603_5700980458753198262_n 286270490_386135460204216_3811812075622909851_n

अन्य

भिडियो