मधेस-थरूहट आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै पीडित सङ्घर्ष समिति भारदहले हनुमाननगर कङ्कालिनी नपा-१ भारदहमा पुस २९ गते विरोध प्रदर्शन गरेको छ ।
भारदहको मुख्य चोकबाट निकालिएको विरोध जुलुस पोर्ताहा बजार हुँदै कङ्कालिनी मन्दिरसम्म पुगेर पुनः भारदह चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा अधिवक्ता मोहन कर्णले सरकारले अबिलम्ब प्रतिवेदन सार्वजनिक गर्नुपर्ने भन्दै मधेस आन्दोलनको घटनाका पीडितहरूले चुप लागेर बस्न नहुने र दबावमूलक कार्यक्रमहरू जारी राख्नुपर्ने बताए ।
काङ्ग्रेसका नेता उमेश मिश्रले सरकारले यो प्रतिवेदन सार्वजनिक गरी दोषीलाई कारबाही गर्न माग गरे । यसअघिको मल्लिक आयोगको प्रतिवेदन समेत सार्वजनिक नगरी सरकारले दोषीलाई बचाएको भन्दै उनले दुवै प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गरे । कोणसभामा अन्य वक्ताहरूले सरकारले प्रतिवेदन सार्वजनिक नगरी दोषीलाई उन्मुक्ति दिन खोजेको आरोप लगाए ।
तराई, मधेस र थरूहटलगायतका क्षेत्रमा विभिन्न राजनीतिक दलले गरेको आन्दोलनको क्रममा भएका हिंसा, हत्या र तोडफोडसम्बन्धी घटना छानबिन गर्न सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वमा गठित ६ सदस्यीय आयोगले प्रधानमन्त्री शेरवहादुर देउवालाई गत मङ्सिर २९ गते आफ्नो प्रतिवेदन बुझाएको थियो ।