अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) प्रदेश १, कार्यालयको आयोजनामा शिक्षा अधिकारका सवालमा भएको अन्तरक्रियामा सरोकारवालाहरूले सामुदायिक विद्यालयको शैक्षिक सुधारमा जोड दिएका छन् ।
फागुन ५ गते भोक्राहा नरसिंह गाउँपालिकामा आयोजित अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरूले सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्न आवश्यक रहेकोमा जोड दिएका हुन् ।
सामुदायिक विद्यालयहरूको पूर्वाधार कमजोर हुँदा त्यसको चौतर्फी असर परेको शारदा माध्यमिक विद्यालय ढोकका प्रधानाध्याक रामुप्रसाद मेहताले बताउनु भयो । उहाँले भौतिक पूर्वाधार र जनशक्तिको व्यवस्थापन गरेर शैक्षिक गुणस्तर बढाउनु पर्ने सुझाव दिनुभयो ।
जनता मावि नरसिंहका प्रधानाध्यापक जदु साहले केहीले विद्यार्थीले बीचमै पढाइ छाड्ने समस्या रहेकोले त्यसको निराकरणका लागि सम्बन्धित पक्ष सजग हुनुपर्ने बताउनु भयो । प्रअ साहले शैक्षिक गुणस्तर र भौतिक पूर्वाधारबीच अन्योन्याश्रित सम्बन्ध हुने भएकाले भौतिक पूर्वाधारले समेत विद्यार्थीहरूलाई आकर्षण गर्ने बताउनु भयो ।
श्री आधारभूत विद्यालयका प्रअ रामानन्द मेहताले भन्नुभयो “सामुदायिक विद्यालयमा विद्यार्थीको रूची घट्दै जानुको प्रमुख कारण भौतिक पूर्वाधार, अभिभावक शिक्षाको अभाव र अनुगमनको कमी हो ।” । मेहताले भन्ननुभयो,“शैक्षिक गुणस्तरका लागि स्तरीय शिक्षक जस्तै भौतिक संरचना पनि आवश्यक पर्छ । त्यसो नहुँदा समग्र शैक्षिक स्तरमै असर पर्छ ।”
बालमैत्री कक्षामा खाजामा रमाउँदै पढ्दै गरेका बालबालिकाहरूलाई थप प्रोत्साहन कार्यक्रम आवश्यक रहेको आर्दश आधारभूत विद्यालयका प्रअ पुष्प गुभाजुले बताउनु भयो । कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष महेन्द्रप्रसाद यादवले सामुदायिक विद्यालयको भौतिक व्यवस्थापन कमजोर हुँदा शैक्षिक गुणस्तर र विद्यार्थीको आकर्षण बढ्न नसक्ने देखिएकाले भौतिक सुधारमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले स्थानीय स्रोत कम भएकाले समस्या भएको भन्दै प्रदेश र सङ्घीय सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।
अध्यक्ष यादवले भन्नुभयो, “भौतिक पूर्वाधार सुधार अभियान अन्तर्गत यो वर्ष माग र आवश्यकता पहिचान गरी विद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि अनुदान दिन शुरू गरेका छौं ।” यस आर्थिक वर्षमा २० ओटा विद्यालयको पूर्वाधार सुधार गर्ने अनुदान माग गरिएकोमा एउटा विद्यालयलाई चार कोठे, दुई विद्यालयलाई दुई कोठे भवन र दुई विद्यालयमा आइसीटी ल्याब परेको बताउनु भयो ।
गाउँपालिकाले शिक्षाको क्षेत्रमा राम्रा योजनाहरू ल्याएपनि कार्यान्वयनको अभाव भएको र दीवा खाजा, छात्राहरूलाई सेनेटरी प्याड, स्थानीय पाठ्यक्रमको निर्माणका विषयहरू नीति तथा कार्यक्रममा भएपनि कार्यान्वयनमा भने समस्या भएको प्रधानाध्यापक मनोज मेहताको भनाइ छ ।
पृथ्वी नारायण माविका प्रअ भोला प्रमाणिकले सबैको प्रयत्न र समन्वयमा विद्यालयलाई नमूना बनाउन सकिने भएकाले भौतिक पूर्वाधारको निर्माण, शिक्षक दरबन्दी र मिलान जस्ता विषयमा गाउँपालिकाले विशेष चासो दिनुपर्ने बताउनु भएको छ ।

