INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व समीक्षा

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि जिल्लामा सङ्कलित घटनाको प्रकाशन पूर्व वार्षिक समीक्षा पुस ६ गते बारामा सम्पन्न गरिएको छ ।

बारामा एक वर्षको अवधिमा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको प्रतिवेदन इन्सेक बारा प्रतिनिधि भोलानाथ पौडेलले प्रस्तुत गर्नु भएको थियो ।

प्रतिवेदनमा ७५ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरू उल्लेख छ । जसमध्ये बलात्कार २३, बलात्कार प्रयासका आठ, हत्याका सात, ज्यान मार्ने उद्योगका ६, कुटपिटका चार, बहुविवाहका चार, यौन दुर्व्यवहारका तीन लगायत छन् ।

कार्यक्रममा बारा जिल्ला अदालतका श्रेस्तेदार नवराज जोशीले जिल्लाका सबै घटनाको हाल सम्मको अवस्था वर्ष पुस्तकमा राख्नका लागि अनुरोध गर्नु भयो ।

उहाँले अरुको अधिकार हनन् नहुने गरी आफ्नो अधिकार प्रयोग गर्ने चेतनामूलक कार्यमा इन्सेकले पहल गर्न आवश्यक रहेको बताउनु भयो ।

स्रेस्तेदार जोशीले कानुनहरूको कार्यान्वयन गर्न नागरिकको सहयोग र सरकारले अझ बढि सक्रियता देखाउन आवश्यक रहेको बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी राजेश थापाले मानव अधिकार रक्षका लागि नेपाल प्रहरी अहोरात्र लागि परिरहेको बताउनु भयो ।

उहाँले सम्मानपूर्वक बाँच्न पाउने अधिकारको रक्षा गर्न विभिन्न प्रविधि र जनशक्तिको प्रयोग गरेको बताउनु भयो ।

जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख जुद्धबहादुर आलेले दलित, जनजाति र मुस्लिम समुदायका नागरिकको अधिकारको रक्षा गर्न इन्सेकको ध्यानाकर्षण गर्नु भयो ।

उहाँले न्यायिक समितिहरूले कानुनले कल्पना गरेजसरी काम नगरेको विषय वर्ष पुस्तकमा समावेश गर्न आग्रह गर्नुभयो ।

सामाजिक अभियान्ता निरमा चौधरीले जिल्लामा केहि घटना छुटेकाले वर्ष पुस्तका थप गर्न र घटना रोक्नका लागि पहल गर्न आग्रह गर्नुभयो ।

अभियन्ता सुनिता बस्नेतले बालबालिका र महिला माथि हिंसाका घटना बृद्धि भएकाले सिङ्गो समाजको ध्यानाकर्षण गर्न आवश्यक रहेको बताउनु भयो ।
बारा जिल्ला बार एसोसिएशनका अध्यक्ष सन्तोषकुमार गुप्ताले अदालतमा प्रवेश नगरेका घटना पनि वर्ष पुस्तका राख्न सुझाव दिनु भयो ।

photo20211221bara (2)

अन्य

भिडियो