INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार समूहको पहलमा बजार अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा पोखरा महानगरपालिकामा गठन गरिएको मानव अधिकार समूहको पहलमा पोखरा महानगरपालिका–३२ मा असोज १४ गते बजार अनुगमन गरिएको छ ।

उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, मानव अधिकार समूह, वडाका जनप्रतिनिधि र नेपाल प्रहरीको टोलीले पोखरा महानगरपालिका–३२ स्थित जनताको चौतारा, सातमुहाने र खोलाछेउका करिब ३५ ओटा पसलहरूमा अनुगमन गरेको थियो ।

photo20211002Kaski3

अनुगमनका क्रममा प्रयोग मिति सकिएका खाद्य सामाग्री बेच्न राखिएको, मूल्य सूचि टाँस नगरिएको र पसल दर्ता एवम् नविकरण नभएको भेटिएको थियो ।

उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक नारायण आर्चायले यो अनुगमन पहिलो चरणको रहेकाले ती पसलहरूलाई आफ्नो गल्ती सुधार गर्नका लागि सचेत गराएको बताउँदै आगामी दिनमा सुधार नभए कानुन बमोजिम कारबाही गरिने बताउनुभयो ।

उहाँका अनुसार मूल्यसूचि नराखिएका अधिकांश पसलहरूलाई तीन दिन भित्र मूल्यसूचि टाँस गर्न भनिएको छ ।

अनुगमनका क्रममा दर्ता नगरी सञ्चालन गरिएका पसलहरूलाई अनिवार्य दर्ता र नविकरण गराउन वडाध्यक्ष अक्कलबहादुर कार्कीले सचेत गराउनुभएको थियो ।

photo20211002Kaski2

मानव अधिकार समूह पोखरा महानगरपालिकाका संयोजक सूर्य पौडेलले उपभोक्ताबाट म्याद गुज्रिएका सामान बिक्रि भइरहेको, मनपरी मूल्य लिइएको गुनासो आएपछि समूहले सचेतना मुलक ढङ्गबाट अनुगमन गर्न पहल गरेको बताउनुभयो ।

उपभोक्ताबाट गुनासो आएपछि मानव अधिकार समूहको बैठकबाट बजार अनुगमनको लागि पहल गर्ने निर्णय भए अनुरूप सरोकारवाला निकायलाई पत्राचार गरी उनीहरूकै सहभागितामा अनुगमन गरिएको उहाँले जानकारी दिनुभयो ।

photo20211002Kaski1

उहाँले अनुगमनको क्रममा प्राय बालबालिकाले खाने जंक फुडहरू म्याद गुिज्रएको पाइएको बताउनुभयो ।

अनुगमनमा खाद्य अनुसन्धान अधिकृत शिव जी वरालले दशैको बेला बजार अनुगमनले राम्रो नतिजा दिने बताउदै सो को पहल गरेकोमा मानव अधिकार समुहलाई धन्यवाद समेत दिनुभयो ।

उहाँले अखाद्य वस्तुले नागरिकको स्वास्थ्यमा नकारात्मक असर पुर्याउने भन्दै जनतालाई सचेत बनाउने उद्देश्यले उपभोग्य वस्तुको बेलाबेलामा अनुगमन गर्न आवश्यक रहेको बताउनुभयो ।

अन्य

भिडियो