INSEC Online

📅 २०८३ जेष्ठ २१

खाद्य अधिकारको अवस्था र सरोकारवालाहरुको भूमिका बिषयक संवाद सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय,धनगढीको सहयोग तथा पुनर्वास नगरपालिका स्तरीय मानव अधिकार समुहको आयोजनामा खाद्य अधिकारको अवस्था र सरोकारवालाहरुको भूमिका विषयक संवाद कार्यक्रम असोज ११ गते पुनर्वासमा सम्पन्न भएको छ ।

स्थानीय व्यावसायी प्रेमबहादुर थापाले सरकारले पुनर्वास क्षेत्रमा दैनिक सिमा क्षेत्रबाट भइरहेको अखाद्य तथा गुणस्तरहिन दैनिक उपभोग्य सामग्रीहरुको गैर कानुनी आयातलाई अनुगमन नगरिदिदा स्थानीय व्यावसायीहरुलाई मार्का परिरहेकोले सिमा क्षेत्रमा भइरहेको अवैधानिक आयातलाई रोक्न आग्रह गर्नु भयो ।

पुनर्वास उद्योग बाणीज्य सङ्घका सचिव मित्रसिंह लामाले कोभिड महामारीको समयमा बजारमा कालोबजारी बढिरहेको अवस्थामा नगरपालिकासँग बजार अनुगमन गर्न आग्रह गरिएको भएपनि सुनवाइ नभएको र भारतिय  बजारबाट अवैधानिक तरिकाबाट सामानहरु ओसारपसार गर्नेलाई प्रहरीले नै संरक्षण गर्ने गरेको बताउनु भयो ।

नगरपालिका क्षेत्रमा सञ्चालन भइरहेका कतिपय पसलहरु दर्ता नै नभएकोले नगरपालिकाले अनुगमन गरेर कार्वाहीको दायरामा ल्याउनु पर्ने उहाँले बताउनु भयो ।

नगरपालिकाको अनुगमन टोली बजार अनुगमन गर्न आइरहेको छ भन्ने सूचना चुहावट हुने गरेका कारण अनुगमन प्रभावकारी हुन नसकेको पुनर्वास नगरपालिकाका कृर्षी शाखा प्रमुख कर्णबहादुर शाहीले बताउनु भयो ।

छिमेकी राष्ट्र भारतले कृर्षिमा व्यापक यान्त्रीकरण गरेर लागत मुल्य घटाएका कारण बजारमा भारतिय उत्पादनको मुल्य कम पर्न गएकोले नेपाल सरकारले पनि कृर्षिमा यान्त्रीकरण गर्ने नीति अनुरुप नगरपालिकाले विभिन्न मेसिन तथा औजारहरु अनुदान तथा सहुलियत दरमा वितरण गरिरहेको उहाँले बताउनु भयो ।

सिमावर्ती बजारका भारतिय ब्यापारीहरुले महिनौँसम्मका लागि उघारोमा नेपालीहरुलाई दैनिक उपभोग्य सामग्रीहरु बिक्री–वितरण गर्ने तथा अधिकाशं नेपालीहरु रोजगारिका लागि भारत नै जानु पर्ने बाध्यता भएकोले पनि भारतिय सामग्रीहरु आयात भइरहेको पुनर्वास नगरपालिका–५ का वडाध्यक्ष बिरबहादुर बोगटीले बताउनु भयो ।

पुनर्वास नगरपालिका–६ का वडाध्यक्ष मनबहादुर गुरुङ्गले जनचेतनाको अभाबमा खाद्य गुणस्तर मापन गर्ने विधी सर्वसाधारण उपभोक्ताहरुलाई जानकारी नभएकोले बजारमा अखाद्य बस्तुहरुको बिक्री–वितरण भइरहेको बताउनु भयो ।

उपभोक्ताहरु सचेत भएर अखाद्य बस्तुहरुको खरिद तथा उपभोग नगरिदिएमा यो समस्या नआउने र यसका लागि व्यापक रुपमा जनचेतनाका कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक भएको उहाँले बताउनु भयो ।

पुनर्वास नगरपालिकाका उपप्रमुख शारदा बिष्टले कोभिडका कारण जारी गरिएको निषेध आदेशका क्रममा बजार अनुगमन आवश्यकन भएकोले अनुगमन नगरिएको बताउनु भयो ।

उहाँले दशै अगाडि नै मानव अधिकार समुहका प्रतिनिधिहरुको सहभागितामा बजार अनुगमन गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो ।

photo20210928kanchanpur (2)

photo20210928kanchanpur (1)

अन्य

भिडियो