INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रदेश १ मा यौनजन्य घटनामा बृद्धिः इन्सेक

प्रदेश १ मा बालबालिका तथा महिलामाथि यौनजन्य घटनामा बृद्धि भएको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) विराटनगरले सार्वजनिक गरेको पछिल्लो ६ महिनाको स्थिति सूचकमा बालबालिका तथा महिलामाथि यौनजन्य घटनामा बृद्धि भएको पाइएको हो ।

मानव अधिकारको अवस्था सार्वजनिकीकरण सहित मानव अधिकार र मानवीय अवस्था विषयक अन्तरक्रियामा वितरित प्रतिवेदनमा महिलामाथि परिवारजनबाट हत्या, बलात्कारपछि हत्याका घटनामा बृद्धि भएको उल्लेख गरिएको इन्सेक प्रदेश १ का प्रलेख अधिकृत पुन्यप्रसाद अधिकारीले बताउनुभयो । जनवरीदेखि जुनसम्मको अवधिमा ३ सय ६६ जना पीडित भएका छन् ।

सन् २०२१ को जनवरी देखि मार्चसम्मको अवधिमा राज्य पक्षबाट ३८ र अन्य पक्षबाट १ सय ५१ गरी १ सय ८९ जना पीडित भएका छन् । अप्रिलदेखि जुनसम्मको अवधिमा प्रदेश १ मा १ सय ७७ जना पीडित भएको प्रतिवेदनमा उल्लेख छ ।

इन्सेकको अभिलेखका आधारमा अप्रिलदेखि जुनसम्मको अवधिमा बाल अधिकारका घटनामध्ये हत्या प्रयासमा एक बालक, एक बालिका, यौन दुर्व्यवहारका घटनामा दुई बालक, १९ बालिका, बाल विवाहको घटनामा चार बालिका र बलात्कारका घटनामा ५० बालिका गरी ७६ जना पीडित भएका छन् ।

महिला अधिकार अन्तर्गतका घटनामा घरेलु हिंसामा २४, बहुविवाहमा १३, बलात्कारमा २७, बलात्कार प्रयासमा १० र यौन दुर्व्यवहारमा तीन जना गरी ७७ जना महिला पीडित भएको प्रलेख अधिकृत अधिकारीले बताउनुभयो ।

जनवरीदेखि मार्चसम्मको अवधिमा बालबालिकाविरुद्ध भएका हिंसाबाट बेचविखन तथा ओसारपसारमा दुई, बलात्कारका घटनामा ३४, यौन दुर्व्यवहारका घटनामा १६, विद्यालयमा दिइने शारीरिक दण्ड सजायबाट र बालविवाहका घटनाबाट ५४ जना बालबालिका पीडित भएको इन्सेक प्रदेश १ का प्रलेख अधिकृत अधिकारीले बताउनुभयो ।

प्रदेश १ का १४ ओटा जिल्लाका इन्सेक प्रतिनिधिबाट सङ्कलन गरिएका घटनाहरूको आधारमा जनवरीदेखि जुनसम्मको मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको तथ्याङ्कसहित स्थितिसूचक प्रकाशन गरिएको इन्सेक प्रदेश १ का प्रमुख सोमराज थापाले बताउनुभयो ।

अन्तरक्रिया कार्यक्रममा इन्सेक अध्यक्ष डा. इन्दिरा श्रेष्ठले इन्सेकले हरेक वर्षको फागुन ७ गते प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तकमा समेट्ने घटनाहरुको अभिलेखिकरणमा थप सुझाव लिने उद्देश्यले अधिकारकर्मीबिच अन्तरक्रिया कार्यक्रम गरिएको बताउनुभयो ।

वर्ष पुस्तक प्रकाशन गर्नुअघि गरिएका छलफलबाट आएका सुझावले पुस्तक थप परिपक्व बन्ने बताउनुभयो । प्रादेशिक सञ्चार प्रतिष्ठान प्रदेश १ का कार्यकारी निर्देशक यज्ञ शर्माले नेपालको मानव अधिकारको अवस्था थाहा पाउन वर्ष पुस्तक हेरे पुग्ने बताउनुभयो ।

MOrang Photo 20210919

अन्य

भिडियो