इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना तथा मानव अधिकार रक्षक सञ्जाल, बझाङको समन्वयमा मानव अधिकार रक्षकहरुको सुरक्षाका सवालमा अन्तरक्रिया कार्यक्रम भदौ ३१ गते जिल्ला सदरमुकाम चैनपुरमा सम्पन्न भएको छ ।
इन्सेक बझाङ जिल्ला प्रतिनिधि उत्तमकुमार थापाले नेपाल सरकारले ०७७ सालमा जारी गरेको मानव अधिकार रक्षकहरुको सुरक्षा र संरक्षणसम्वन्धी आदेशका बारेमा सरोकारवालाहरुलाई जानकारी दिन र आदेशको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धीत पक्षको ध्यानकर्षण गर्न कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले सरकार मानव अधिकारको प्रत्याभूति गर्न प्रतिबद्ध रहेको र गृह मन्त्रालयले जारी गरेको आदेशको पूर्ण कार्यान्वयन गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो । उहाँले नागरिकले पनि आफ्नो कर्तव्यको पूर्ण पालना गर्न आग्रह गर्नु भयो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका प्रतिनिधि पार्वती अवस्थीले अधिकारकर्मीहरुको सुरक्षा तथा आवश्यक सूचनाहरु उपलब्ध गराउन आफूहरु प्रतिबद्ध रहेको बताउनु भयो ।
पनर्स्थापना गृह, बझाङका प्रमुख गिता साहीले मानव अधिकारकर्मीहरु पीडितको न्यायका पक्षमा वकालत तथा पैरवी गर्दै आएको भएपनि अधिकारकर्मीहरुको स्पष्ट पहिचान नभएका कारण समस्याहरु आउने गरेको बताउनु भयो ।
जिल्ला मानव अधिकार सञ्जालका अध्यक्ष भिम रासाईलीले मानव अधिकार रक्षकहरुको सुरक्षा र संरक्षण गर्न नेपाल सरकार गृहमन्त्रालयले जारी गरेको आदेश प्रभावकारी रुपमा कार्यान्वय गरिनु पर्ने र मानव अधकिारको संरक्षण र सम्बद्र्धमा सबैले सहयोग गर्न आवश्यक रहेको बताउनु भयो ।
