INSEC Online

📅 २०८३ जेष्ठ २१

बालबालिकाले भत्ता नपाएको विषयमा छानविनको लागि प्रशासनको ध्यानाकर्षण

भेरी नगरपालिकाका चार वटा वडाका ९ सय २० बालबालिकाले पोषण भत्ता नपाउने भएपछि मानव अधिकार रक्षक सञ्जाल जाजरकोटले ०७८ साउन १९ गते प्रशासनको ध्यानाकर्षण गराएको छ ।

पोषणमा सुधार ल्याउने उद्देश्यले सरकारले ५ वर्ष मुनिका बालबालिकालाई दिदै आएको भत्ता अन्तगरत आर्थिक वर्ष ०७७÷७८ को रकम समयमा बैकमा रकम जम्मा नहुँदा भेरी नगरपालिकाका वडा नम्बर ४, ८, ९ र १० का ९ सय २० बालबालिकाको एक वर्षको ४७ लाख रूपियाँ बाल पोषण भत्ता फ्रिज भएपछि सम्बन्धित निकायकको ध्यानाकर्षण गराइएको सञ्जालका सहसंयोजक विजया नगरकोटीले बताउनुभयो ।

‘कसको लापरबाहीले बालबालिकाको पोषण भत्ता रोकिएको हो छानविन हुनुपर्छ र बालबालिकालाई कुनै पनि बहानामा पोषणबाट बञ्चित गरिनुहुदैन’ नगरकोटीले भन्नुभयो ।

20210805 Jajarkot

सामाजिक सुरक्षा भत्ता अन्र्तगत पोषण भत्ताको निकासा गत असार २७ गते आएको र नगरपालिकाले २९ गते बैंकसँग गरेको सम्झौता बमोजिम एनआइसी एसिया बैंकलाई पोषण भत्ताको ४७ लाखको चेक दिएपनि बैकको लापरवाहीले गर्दा समयमा नसाटिएको कारण रकम फ्रिज भएको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत दलबहादुर घर्तीले बताउनुभयो ।

यस विषयमा निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद देवकोटाले कसको कमजोरीले बालबालिका भत्ता पाउनबाट बञ्चित भए भन्ने विषयमा तत्काल छानवीन गरिने बताउनु भयो ।

भेरी नगरपालिकाका अनुसार १३ वडा मध्य नेपाल बैंक लिमिटेड, राष्ट्रिय बाणिज्य बैंक, सिटिजन बैंक र एनआइसी एसिया बैंकमा सामाजिक सुरक्षा भत्ता र पोषण भत्ताका लागि खाता सञ्चालन गरिएको छ ।

एनआइसी एसिया बैक बाहेक अन्य बैकले खाता खोलेर रकम निकासा लिइ सम्बन्धितलाई रकम भुक्तानी दिइरहेका छन् । तर एनआइसी एसिया बैंकबाट कारोबार गर्ने निर्णय गरेका वडाहरूको रकम समयमा जम्मा नगर्दा समस्या आएको नगरपालिकाकाले जनाएको छ ।

प्रशासकिय अधिकृत घर्तीले भन्नु भयो ‘बैंकको केन्द्रिय कार्यालय र पञ्जिकरण विभागमा कुरा गरेका छौं । बैंककै लापरवाहीले समस्या आएकोले जसरी पनि बैंकले बालबालिकालाई रकम दिनुपर्छ ।’

सम्झौता अनुसार बालबालिकाले रकम पाउने सुनिश्चितता नभएमा कानुनी प्रक्रियामा जाने पनि घर्तिको भनाई छ ।

अन्य

भिडियो