INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकारको रक्षा गर्न सबै प्रतिबद्ध हुनुपर्छः प्रमुख जिल्ला अधिकारी पौडेल

मानव अधिकारको रक्षा गर्न सबै पक्ष प्रतिबद्ध भएर लाग्नु पर्ने बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताउनु भएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बाराको आयोजनामा असार ३१ गते कलैयमा आयोजित नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२२ का लागि जिल्लामा अभिलेख गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको अर्धवार्षिक समीक्षा कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो ।

उहाँले मानव अधिकारका क्षेत्रमा इन्सेकले लामो समयदेखि काम गरी राज्यका निकायलाई झक्झक्याएको र घटना न्यूनीकरण गर्न नागरिक समाजमा जनचेतना प्रवाह गरेको बताउनु भयो ।

उहाँले जिल्लाको मानव अधिकारको रक्षा गर्न प्रतिबद्ध रही इन्सेकले गर्दै आएको कार्य सबै नागरिकको साझा भएकाले सक्दो सहयोग गरी मानव अधिकारको रक्षा गर्नु पर्नेमा जोड दिनु भयो ।

इन्सेकले तयार गर्ने नेपाल मानव अधिकार वर्ष पुस्तकले सन् २०२१ मा भएका घटनाको विश्लेषण गर्ने भएकाले विगतका वर्ष जस्तै सावधानीपूर्वक काम गर्न प्रमुख जिल्ला अधिकारी पौडेलले जिल्ला प्रतिनिधिलाई आग्रह गर्नु भयो ।

जिल्ला प्रहरी कार्यालयका एसपी दिपेन्द्र शाहीले मानव अधिकारको सम्मान गरी शान्त समाजको निर्माण गर्न आग्रह गर्नु भयो । उहाँले मानव अधिकारको सम्मान र संरक्षण गर्न प्रहरी प्रतिबद्ध रहेको बताउनु भयो ।

राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका रिवेनकुमार गच्छदारले मानव अधिकार रक्षा गर्न सकारात्मक प्रयास भइरहेको बताउनु भयो ।

सुवर्ण गाँउपालिकाकी उपाध्यक्ष बबिता यादवले न्यायीक समिति सवलिकरण गर्न इन्सेकसँग अग्रह गर्नु भएको छ ।

नागरिक समाजका अध्यक्ष उमेशलाल दासले संविधानमा उल्लेख भएका मौलिक हक कार्यान्वयन गर्न जोड दिनु भयो ।

उहाँले नागरिकको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारहरूको कार्यान्वय भएको नागरिकले महसुस गर्न नसकेको गुनासो गर्नु भयो ।

नेपाल मानव अधिकार सङ्गठनका सिकेन्द्र पासवानले समाजमा जातीय भेदभाव यथावत रहेको उल्लेख गर्नु हुँदै स्वास्थ्य सेवामा सबैको पहुँच नपुगेको विषयमा इन्सेकले अनुगमन गर्न आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि भोलानाथ पौडेलले सन् २०२१ को जनवरीदेखि जुनसम्म जिल्लामा अभिलेख गरिएका ३८ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको विवरण प्रस्तुत गर्नु भएको थियो ।

अभिलेखित घटना अनुसार बाल यौन दुर्व्यवहारका तीन, बलात्कारपछि हत्या प्रयास एक, बलात्कार नौ, अपहरण तथा शरीर बन्धकका तीन, बहुविवाहका दुई, गिरफ्तारीको एक, हत्याका सातलगायत रहेका छन् ।

 photo20210716bara (1)

photo20210716bara (2)

photo20210716bara (3)

photo20210716bara (4)

photo20210716bara (5)

अन्य

भिडियो