अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँको आयोजना तथा बन्दिपुर गाउँपालिकाको संयोजनमा खाद्यको अधिकारसम्बन्धी सरोकारवालाबिचको अन्तरक्रिया कार्यक्रम चैत १३ गते बन्दिपुर गाउँपालिका वडा नम्बर १ को कार्यालय पिप्लेमा सम्पन्न भयो ।

कार्यक्रममा बोल्दै वडा नम्बर १ का अध्यक्ष भानुभक्त पोख्रेलले संविधानले खाद्य अधिकारलाई मौलिक हकका समावेश गरेको हुँदा स्थानीय सरकारको रूपमा रहेको गाउँपालिकाले पनि खाद्य अधिकारलाई कार्यक्रमको रूपमा समाविष्ट गर्नुपर्ने बताउनुभयो ।
सोही अनुसार गाउँपालिकाले पनि कृषि तथा पशु सेवासम्बन्धी कार्यक्रमलाई प्राथमिकतामा राखेको उहाँले बताउनुभयो ।
गाउँपालिकाले कृषि तथा पशु सम्बन्धी विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको तर नागरिकहरू सेवा लिन आउनमा जाँगर नचलाएको भन्दै उहाँले सरकारले दिएका सेवाको उपभोगमा चासो राख्नुपर्ने बताउनुभयो ।
अहिले खाद्यमा भएको विषादीको प्रयोग र मिसावटले दिर्घकालिन रोगहरू लाग्न थालेको भन्दै उहाँले आफ्नो भान्सामा पाक्ने तरकारी आफ्नो बारीमा उत्पादन गर्न सक्नुपर्ने बताउनुभयो ।
वडा अध्यक्ष पोखे्रलले कृषकहरू व्यसायिक हुनुपर्ने भन्दै त्यसकोलागि गाउँपालिकाबाट हुने सहयोग गर्न तयार रहेको बताउनुभयो ।

वडा वडामा कृषि तथा पशु सेवाको प्राविधिकहरू नियुक्ती, आलुको बिउमा अनुदान, प्लाष्टिक टनेल निर्माण, धानको बिउमा अनुदान, घाँसको बिउमा अनुदान, सुत्केरी भैसीलाई भत्ता, दुधमा अनुदान लगायतका कार्यक्रमहरू सञ्चालन गरिएको जानकारी दिनुभयो ।
वडा सदस्य टेकबहादुर रानाको अध्यक्षतामा भएको सो कार्यक्रममा गाउँ कार्यपालिका सदस्य सावित्री दुवाडी, वडा सदस्य अमृत शाही, हरियाली कृषक समुहका अध्यक्ष कृष्ण पन्थ, उपल्लो फाँट टोल विकास संस्थाका अध्यक्ष भास्कर न्यौपाने लगायतले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा गाउँपालिकाका कृषि तथा पशु शाखाका अधिकृत मधुविलास न्यौपानेले बन्दिपुर गाउँपालिकामा कृषिको प्रचुर सम्भावना रहेको र कृषकहरूलाई पनि अनुदानका विभिन्न कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।
वेमौसमी तरकारी खेती मार्फत कृषकहरूलाई व्यसायीकरण गर्ने, बाख्रा पालन, भैसी पालन र कुखुरा पालन गर्ने कृषकलाई अनुदानको कार्यक्रम, हाते ट्रयाक्टरमा ५० प्रतिशत अनुदान, घाँस खेतीमा सत प्रतिशत अनुदान, भैसी पालनमा कृषकलाई आकर्षित गर्न सुत्केरी भैसीलाई भत्ता लगायतका कार्यक्रमहरू सञ्चालन गरिएको जानकारी दिनुभयो ।