अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनुषाद्वारा पुस १२ गते जनकपुरधाममा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को लागि सङ्कलित घटनाको प्रकाशन पुर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रममा इन्सेक धनुषा जिल्ला प्रतिनिधि दिपेन्द्रप्रसाद सिंहले सन् २०२० मा जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
प्रतिवेदनमा बालिका बलात्कारका २०, सामूहिक बलात्कारका आठ, बलात्कार प्रयासका तीन, गर्भपतनका एक, यौन दुर्व्यवहार चार, दुव्र्यवहारका ११, मानव बेचबिखन तथा शरीर बन्धकका तीन, हत्याका आठ, हत्या प्रयासका नौ, प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्प्तार पाँच, मार्ने धम्कीका तीन, कथित बोक्सी आरोपका चार, एसिड प्रहारका दुई, बहुविवाहका दुई, कुटपिटका ११, झडपका तीन, आगजनीका दुई र अस्पतालमा गुणस्तरीय सेवा नपाएर उपचार अभावमा तीन जनाको मृत्यु लगायतका घटनाहरूको विवरण समावेश गरिएको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले मानव अधिकार उल्लङ्घनको घटनाप्रति राज्य संवेदनशील भएर अध्ययन र अनुसन्धान गर्दै आएको बताउनु भयो ।

उहाँले गम्भीर प्रकृतिका मानव अधिकार उल्लङ्घनका घटनामा मिलापत्र गर्ने र गराउने प्रवृत्तिलाई निरुत्साहित गर्न यस्ता प्रकारका घटना भइरहेको भएमा समयमै प्रहरी प्रशासनलाई खबर गरी सहयोग गर्न सबैमा आग्रह गर्नु भयो ।
देशमा राष्ट्रिय मानव अधिकार आयोग गठन हुनु पूर्वदेखि नै इन्सेकले मानव अधिकाकारको सवालमा वकालत गर्दै नेपाल मानव अधिकार वर्ष पुस्तकमार्फत घटनाहरूको सार्वजनिक गर्दै आएको बताउँदै घटनाको अध्ययन र अनुसन्धानलाई सशक्त रुपमा अगाडि बढाइहन सुझाव समेत दिनु भयो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी रमेश बस्नेतले जिल्लामा घटेका मानव अधिकार उल्लङ्घनका घटनाहरूलाइ इन्सेकले आफ्नो प्रतिनिधिमार्फत अभिलेखिकरण गरिनु सराहनीय काम भएको बताउनु भयो ।
अहिले पनि समाजमा भइरहेका घटनाहरू गाउँघरमै मिलापत्र गर्ने परिपाटी रहेकाले यस्ता गतिविधिलाई निरुत्साहित गरिनुपर्नेमा उहाँले जोड दिनु भयो ।
जातीय, वर्गीय विभेदका घटनाहरूलाई इन्सेक प्रतिनिधिले अभिलेखिकरण गर्नु भएको घटनाहरूमा पीडितहरूको भनाई समेत राखिएकाले आफुलाई खुशी लागेको उहाँले बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालय धनुषाले मानव अधिकार र सम्पूर्ण जनताको मौलिक अधिकारको रक्षा गर्नु हाम्रो दायित्व भएको उहाँले बताउनु भयो ।

राष्ट्रिय मानव अधिकार आयोग प्रदेश नंं २ का अनुसन्धान अधिकृत मनमाया रानामगरले मानव अधिकार उल्लङ्घनको घटनाप्रति मानव अधिकार आयोग गम्भीर रहेको बताउनु भयो ।
प्रहरी र प्रशासनमा उजुरी नपरेका घटनाहरूमा समेत इन्सेकको दृष्टि तथा अनुसन्धान हुने गरेकाले सराहनीय काम भएको उहाँले बताउनु भयो ।
मानव अधिकार उल्लङ्घनका घटनाहरूको न्युनिकरण र घटना पश्चात्त अध्ययन र अनुसन्धानका लागि आयोगले समेत इन्सेकलाई सहकार्य गर्दै अगाडि बढ्ने उहाँको भनाइ छ ।
नेपाल पत्रकार महासंघ धनुषा शाखाका सभापति अनिल मिश्रले समाजमा अहिले समेत जातीय विभेदका घटनाहरू व्याप्त रहेको बताउनु भयो ।
धनुषाको एक गाउँमा दलितले दलितलाई नै इनारको पानी खान नदिएको घटनाहरू रहेकाले त्यसतर्फ समेत हाम्रो ध्यानाकर्षण हुनुपर्नेमा उहाँले जोड दिनु भयो ।
मानव अधिका हनन् र ज्यादतीका घटनाहरूलाई इन्सेकले अध्ययन र अनुसन्धान गरी अभिलेखिकरण गर्दै समीक्षाको लागि जानकारी गराएकोमा धन्यवाद व्यक्त गर्नु भयो ।
इन्सेक प्रदेश नंं. २ का संयोजक राजु पासवानले राज्य पक्षबाट अहिले मानव अधिकार उल्लङ्घनका घटनामा कमी आउनु सकारात्मक भएको बताउँदै गैरराज्य पक्षबाट पनि मानव अधिकार उल्लङ्घन भइरहेको बताउनु भयो ।
प्रदेश २ मा महिला हिंसा, बलात्कार, जातीय विभेद, कथित बोक्सी लगायतका घटनाहरू अझै भइरहेकाले यसतर्फ हामी अधिकारकर्मीहरू सचेत हुनुपर्नेमा उहाँले जोड दिनु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश २ का महासचिव किरण कर्ण, सामाजिक अभियन्ता रामु महरा र निल हिरा समाजका अभियन्ता प्रदिप यादव लगायतले राज्य पक्षबाट मानव अधिकार उल्लङ्घनको घटनामा कमी आएकोमा खुशी व्यक्त गर्दै गैरराज्य पक्षबाट हुने मानव अधिकार उल्लङ्घनका घटनामा कडाइका साथ अनुसन्धान गर्न आग्रह समेत गर्नु भएको छ ।