सिन्धुलीमा पुस १० गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सन् २०२० भित्र जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाका बारेमा समीक्षा गरिएको थियो ।
कार्यक्रममा सरोकारवालाले घरको शिक्षा (स्कुलिङ) राम्रो भएमा मात्र मानवअ धिकार उलङ्घन तथा ज्यादतीका घटनामा कमी ल्याउन सकिने बताएका छन् ।
समीक्षा कार्यक्रममा बोल्दै कमलामाई नगरपालिकाका प्रमुख खड्ग खत्रीले घरभित्रको शिक्षा (स्कुलिङ) ले हिंसा न्युनीकरण गरी मानव अधिकार संरक्षणमा सहयोग पुर्याउने बताउनु भएको हो ।
उहाँले मानव अधिकार संरक्षणका लागि बनेका कानुन किन बने ? घटना के कारणले हुन्छन ? र त्यसको प्रभाव के हुन्छ ? भन्ने बारेमा घरबाटै सिकाउन जरुरी रहेको बताउनु भयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले कानुनलाई आधार मानेर काम गर्दा कहिलेकाहीँ न्याय कमजोर हुन जाने बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी पाण्डेले जिल्ला प्रशासन कार्यालयले उमेर नपुगि विवाह गरेकाहरूको नागरिकता बनाउँदा २० वर्ष नपुगि नागरिकता नदिने व्यवस्थालाई लागु गर्न खोज्दा बालबालिकामा प्रभाव परेको समेत बताएउनु भयो ।
अन्तर्पार्टी महिला सञ्जाल सिन्धुलीका अध्यक्ष सविता कोइरालाले दबाब, प्रभावका कारण मानव अधिकार उलङ्घनका घटनामा बृद्धि भएको बताउँदै संवेदनशीलताको खाँचो रहेको बताउनु भयो ।
उहाँले पनि पारिवारिक सम्बन्धमा हुने निकटता र भोटसँग हिंसाको तुलना हुँदा न्यायको पहुँचमा पीडित पुग्न नसकेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै नेपाल बार एसोसिएसन जिल्ला बार इकाई सिन्धुलीका अध्यक्ष जंगबहादुर राईले पछिल्लो कानुन र अवाञ्छनिय दबाब र प्रभावले न्याय प्रणालीमा प्रभाव परेको बताउनु भयो ।
राईले पछिल्लो फौजदारी कानुनले निर्दोष व्यक्तिलाई समेत न्यायको फन्दामा पर्न बाध्य पारेकाले मुद्दा दर्तादेखि नै संवेदनशीलता अपनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताले बालविवाहको अवस्था, कानुनमा भएको बाझिएका प्रावधान तथा त्यसले निम्त्याएको सामाजिक समस्याका बारेमा इन्सेकले प्रतिवेदनमा उल्लेख गर्नुपर्नेमा जोड दिएका थिए ।
जिल्लाका दलित, जनजाति, मुसहर डोम लगाएतका समुदायमा गरिने बालविवाहका बारेमा पनि छलफल भएको थियो ।
पूर्व वार्षिक समीक्षा कार्यक्रममा इन्सेक प्रतिनिधि बिमला पाण्डेले एक वर्षको अवधिमा जिल्लामा अभिलेख भएका मानव अधिकार उलङ्घन तथा ज्यादतीका घटनामा सबैभन्दा बढी महिला र बालिका प्रभावित भएको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
प्रतिवेदनमा राज्य भन्दा गैह्र राज्य पक्षबाट हुने घटनाको सङ्ख्या बढ्दो रहेको पाइएको छ । जसमा बलात्कार ३०, बाल यौन दुरुपयोग दुई, बलात्कार प्रयास दुई, बोक्सीको आरोप चार, अपहरण तथा शरीर बन्धक दुई, परिवारजनबाट हत्या दुई, बालविवाह दुई ओटा तथा बहुविवाह र घरेलुहिंसा लगाएतका घटना रहेका छन् ।