सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा जातीय विभेद र कोभिड–१९ का कारण महिलामा परेको असर विषयक अन्तरक्रिया कार्यक्रम मनाङमा सम्पन्न भएको छ ।
लैङ्गिक हिंसासम्बन्धी १६ दिने अभियान अन्तर्गत जिल्लाका विभिन्न सरोकारवालाहरुको उपस्थितिमा सञ्चालन भएको कार्यक्रममा जातीय विभेद र कोभिड– १९ले महिलामा परेको असर विषयक कार्यपत्र प्रस्तुत भएको थियो ।

नासों गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सारदा भण्डारीले प्रस्तुत गरेको कार्यपत्रमा प्रमुख अतिथिको रुपमा सुझाव राख्दै गाउँपालिकाका अध्यक्ष चन्द्रबहादुर घलेले यस जिल्लामा लैङ्गिक हिंसाका कुनै पनि घटनाहरु नभएको जानकारी दिनुभयो ।
यताकताकुनै घटनाभइहाले पनि समाजमै मिलापत्रहुने भएकाले कुनै पनि घटनाहरु प्रहरी सामु नपुगेको उहाँको भनाइ छ ।
यो जिल्ला लैङ्गिक हिंसामा शून्यसहनसिलता जिल्लाको रुपमा परिचित रहेको उहाँले दाबी गर्नुभयो र शून्य सहनसिलताकालागि सधै प्रतिबद्ध रहेको बताउनुभयो ।
त्यस्तै, डिएसपी कमलबहादुर मजाकोटीका अनुसार लैङ्गिक हिंसाका घटनाहरुका कुनै पनि उजुरी प्रहरीमा दर्ता नभएको बताउनुभयो ।
उहाँले भन्नुभयो –‘यस जिल्लामा यस्ता हिंसाका कुनै पनि समस्या देखिएको छैन ।’
कार्यक्रममा जिल्ला स्थित सरकारी कार्यालयका प्रतिनिधि, अधिकारकर्मी, प्रहरी प्रशासन, नागरिक समाज, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।
कोभिड–१९ को नौ जना सङ्क्रमित रहेको जिल्लामा सबै जना निको भएको र कोभिड –१९ कै कारण यस जिल्लामा कुनै पनि घटना नघटेको कार्यक्रमहरुका सहभागीहरुले जनाएका थिए ।