अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) द्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने(इएलपी) परियोजना अन्तरगत भोक्राहा नरसिंह गाँउपालिका मङ्सिर २५ गते शिक्षाको अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
इन्सेकद्वारा गठित मानव अधिकार समूह भोक्राहा नरसिंहको आयोजनामा शिक्षाको सवालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ,
कार्यक्रममा सरोकारवालाहरूले विद्यार्थी अनुपातमा शिक्षक नहुँदा पढाईमा समस्या भएको गुनासो गरेका छन् । गाउँपालिकामा रहेका विद्यालय तथा मदर्सामा शिक्षकको अभाव रहेकाले पढाईमा असर परेको सरोकारवालाहरूले बताएका छन् ।
कार्यक्रममा सहभागी रामुप्रसाद मेहताले विद्यालयमा भएका समस्याहरूको समाधानका लागि गाउँपालिकामा पटकपटक आग्रह गर्दा समेत सुनवाई नभएको गुनासो गर्नुभयो ।
भोक्राहा नरसिंह गाउँपालिकाको शिक्षा शाखा प्रमुख रमेश तिम्लिसनाले आफू शिक्षाप्रति पूर्ण प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले गाउँपालिकामा विद्यार्थीको अनुपातमा ७९ जना शिक्षक अभाव रहेकोमा त्यसको परिपूर्ति गर्न सुधारको प्रयासमा रहेको बताउनुभयो ।
गाउँपालिकामा आफूले सबै सामुदायिक तथा मदर्सा सहितका शैक्षिक संस्थामा शैक्षिक गुणस्तरका लागि सरसफाई, खानेपानी भौतिक निर्माण, विद्यालय अनुगमन, खाजा कार्यक्रम, पाठ्यपुस्तक र छात्रवृत्ति समयमा वितरण गर्दै आएको बताउनुभयो ।
जनता अधारभूत विद्यालयका प्रधानाध्यापक भोलीप्रसाद यादवले विद्यालयमा भौतिक संरचना भएपनि मर्मत सम्भारको आवश्यकता रहेको बताउनुभयो ।