अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा कालिकोटमा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने परियोजना अन्तर्गत कात्तिक २७ गते शुभकालिका गाउँपालिकामा खाद्य अधिकारसम्बन्धी सरोकावालाबिच अन्तरक्रिया सम्पन्न गरिएको छ ।
कार्यक्रममा शुभकालिका गाउँपालिकाका कार्यवाहक अध्यक्ष रामबहादुर शाहीले जनताको संवैधानिक हकको रुपमा रहेको खाद्यको अधिकार प्रत्याभुत गराउन गाउँपालिका एकमतका साथ लागि पर्ने प्रतिबद्धता जनाउनु भयो ।
उहाँले शुभकालिका गाउँपालिकाको जनजाती बस्तीमा खाद्यान्न समस्या, गाउँपालिकाभित्र गुणस्तरहीन खाद्यवस्तु अनियमित विक्री वितरण, अव्यवस्थित मासु पसल, खानेपानीको समस्या, रहेकाले यसको समाधान गर्नु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज आचार्यले स्थानीय तहमा खाद्यान्न सङ्कट हुन नदिन स्थानीय श्रोत साधनको अधिकतम विकास र प्रयोग गर्नु पर्ने बताउनु भयो ।
आयतित र अव्यस्थित खाद्यान्नले कोभिड–१९ को महमारिमा थप समस्या उत्पन्न गर्ने भएकाले गुणस्तरीय र ताजा खाद्य वस्तु प्रयोगमा उहाँले जोड दिनु भयो ।
