INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेकद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय पोखराले तनहुँको भानु नगरपालिका, बन्दिपुर गाउँपालिका र कास्की जिल्लाको रुपा गाउँपालिकालाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । तीन आटै स्थानीय तहलाई दुई÷दुई ओटा थान थर्मल गन, एक÷एक लिटर सेनेटाइजर र ५ सय पीस मास्क लगायतका स्वास्थ्य सामग्रीहरु इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले असार २१ गते  हस्तान्तरण गर्नुभएको छ । इन्सेक तनहुँ जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार बन्दिपुर गाउँपालिकाका अध्यक्ष पुर्णसिंह थापालाई र भानु नगरपालिकामा उपमेयर आशा थापालाई ती सामाग्रीहरु हस्तान्तरण गरिएको थियो । उक्त दुई स्थानीय तहमा इन्सेकले स्वास्थ्य, शिक्षा, खाद्य र आवासको अधिकार कार्यान्वयनको लागि जिम्मेवार निकायलाई जवाफदेही बनाउने परियोजना सञ्चालन गरेको र स्वास्थ्य अधिकार अन्तर्गत जनताको स्वास्थ्यको अधिकार कार्यान्वयन गराउन उक्त सामग्री उपलब्ध गराइएको गण्डकी प्रदेश संयोजक शिव खकुरेलले बताउनुभयो । सो अवसरमा बोल्दै भानु नगरपालिकाकी उपमेयर आशा थापाले अहिलेको जोखिमपूर्ण समयमा स्वास्थ्य सामग्री उपलब्ध गराएर इन्सेकले निकै सराहनिय कार्य गरेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘अहिले सबैभन्दा महत्वपूर्ण भनेकै स्वास्थ्य भएको हुँदा स्वास्थ्य सामग्रीको उपलब्धताले नगरपालिकालाई धेरै सहयोग पुग्ने छ ।’

बन्दिपुर गाउँपालिकाका अध्यक्ष पुर्णसिंह थापाले जनतालाई शिक्षा, स्वास्थ्य, खाद्य र आवासको क्षेत्रमा सचेतना जगाएको इन्सेकले स्वास्थ्य सामग्री उपलब्ध गराएर निकै ठूलो सहयोग गरेको बताउनुभयो । उहाँले भन्नुभयो –‘यो सामग्रीले कोभिड –१९ सँग लड्न जनतालाई सहयोग गर्नेछ । ’

इन्सेक कास्की जिल्ला प्रतिनिधि सुशन धिमिरेका अनुसार इन्सेकद्वारा मानव अधिकार शिक्षा अन्तर्गत मानव अधिकार संरक्षण र सम्बद्र्धका लागि राज्यको जवाफदेहीता तथा जनताको सहभागिता अभिबृद्धि कार्यक्रम सञ्चालन भैरहेको रुपा गाउँपालिकालाई प्रदेश संयोजक शिव खकुरेल,कार्यक्रम अधिकृत सवनम शर्मा र मानव अधिकार समूहका संयोजक क्याप्टेन हर्क बहादुर खत्रीले गाउँपालिका अध्यक्ष नवराज ओझालाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नभएको छ ।

गाउँपालिका अध्यक्ष नवराज ओझाले इन्सेक प्रति धन्यवाद व्यक्त गर्दै प्राप्त स्वास्थ्य सामग्री आवश्यक ठाउँमा उपयोग गरिने बताउनुभयो ।

उहाँले मानवअधिकार र सुशासन सम्बन्धी कार्यक्रमलाई अझ प्रभावकारी बनाउन आग्रह गर्नुभयो ।

स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै प्रदेश संयोजक शिव खकुरेलले कोभिड (१९) को जोखिमपूर्ण अवस्थामा नागरिकको स्वास्थ्य समस्यालाई मध्यनजर गरी गाउँपालिकाले गरिरहेको प्रयासमा थप सहयोग पुगोस भनेर यी स्वास्थ्य सामग्रीहरु उपलब्ध गराइएको बताउनुभयो ।

अन्य

भिडियो