अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयले स्याङ्जा स्थित पुतलीबजार नगरपालिकालाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।
इन्सेकद्वारा मानव अधिकार शिक्षा अन्तरगत मानव अधिकार संरक्षण र सम्बद्र्धका लागि राज्यको जवाफदेहीता तथा जनताको सहभागिता अभिवृद्धि कार्यक्रम सञ्चालित सो नगरपालिकाको लागि इन्सेकका सुपरिवेक्षक मधु पन्थी, सहजकर्ता सिर्जना थापा र मानव अधिकार समूह अध्यक्ष तारक बहादुर थापा लगायतले नगरपालिकाकी मेयर सीमा क्षेत्रीलाई दुई ओटा थर्मल गन, ५ सय थान मास्क र दुई लिटर सेनेटाइजर हस्तान्तरण गर्नुभएको हो ।
मेयर क्षेत्रीले इन्सेकको सहयोग प्रति आभार व्यक्त गर्नुभयो । उहाँले हाल विदेशबाट आएका नागरिक काठमाण्डौं पोखरा हुँदै नगरपालिका आउने क्रममा समस्या झेल्नुपरेको छ । यो समस्याको समाधानको लागि प्रदेश सरकारसँग समन्वय भैरहेको बताउनुभयो ।
‘केही बसहरूले भाडा १५ सय रुपियाँ सम्म उठाएको गुनासो आएको छ ।’,– मेयर क्षेत्रीले भन्नुभयो–,‘पोखरामा पनि होल्ड्ङि सेन्टरमा व्यवस्थापन उचित नभएको गुनासो छ, त्यसबारे प्रदेश सरकारलाई जानकारी गराइएको छ ,समाधान होला । ’
उहाँका अनुसार नगरपालिकाका दुई ओटा क्वारेण्टाइमा ९५ वेड रहेका छन् । नगरपालिकामा हाल ४९ जना क्वारेण्टाइनमा रहेका छन् ।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णु प्रसाद काफ्लेले लकडाउनको शुरूवाती समयमा प्रदेश र स्थानीय सरकारबीच समन्वय नहुँदा केही समस्या देखिएता पनि अहिले समस्या नरहेको बताउनुभयो ।