INSEC Online

📅 २०८३ जेष्ठ २१

शिक्षा, स्वास्थ्य, खाद्य तथा आवास अधिकारका विषयक अन्तरक्रिया सम्पन्न

शिक्षा, स्वास्थ्य, खाद्य तथा आवास अधिकारका सवालमा प्रदेश सरकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम फागुन १५ गते विराटनगरमा सम्पन्न भएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १ कार्यालय विराटनगरको आयोजनामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नरेश पोखरेलले शिक्षामा विभेद कायमै रहेको बताउनुभयो । उहाँले सामुदायिक विद्यालयमा छोरी र निजि विद्यालयमा छोरालाई पढाउने संस्कार अझैपनि कायमै रहेको बताउनुभयो ।

शैक्षिक गुणस्तर राम्रो भएको विद्यालयम विद्यार्थीको अभाव नभएको उहाँले बताउनुभयो । सामुदायिक विद्यालयहरू समयसँगै परिवर्तन हुन आवश्यक रहेकोमा प्रमुख पोखरेलले जोड दिनुभयो ।

सामाजिक विकास मन्त्रालयका निमित्त सचिव दिव्यराज कट्टेलले सामुदायिक विद्यालयमा खानेपानी, छात्रा शौचालय, भौतिक पूर्वाधारको समस्या भएको बताउनुभयो । उहाँले कतिपय सामुदायिक विद्यालयमा खानेपानीको सुविधा नभएको बताउनुभयो । प्रदेश सरकारले खानेपानी, शौचालयको समस्या भएका विद्यालयलाई केन्द्रीत गरेर समाधानको काम गरिरहेको बताउनुभयो ।

राष्ट्रिय मानव अधिकार आयोग प्रदेश १ का निर्देशक मोहनदेव जोशीले मौलिक हक देखाउनका लागि मात्रै भएको बताउनुभयो । उहाँले प्रदेश सरकारले ऐन निर्माण गरेपनि नियमावली र कार्यविधि बन्न नसकेको बताउनुभयो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख राजकुमार रिजालले विषादी परीक्षणका लागि उपकरण र पूर्वाधारको अभाव भएको बताउनुभयो । अन्य परीक्षणको सुविधा भएपनि विषादी परीक्षणमा समस्या भएको रिजालले बताउनुभयो ।

खाद्य ऐनमा विशेष व्यवस्था नभए सम्म गुणस्तरहीन वस्तु नियन्त्रण गर्न कठिनाई हुने उहाँले बताउनुभयो । अखाद्य वस्तु नियन्त्रणका लागि निर्देशिका बनाएर काम भईरहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख रिजालले बताउनुभयो । उहाँले भन्नुभयो,‘ निर्देशिका अनुसार पानीको नियमन गर्ने काम भईरहेको छ ।’

शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय विराटनगरका इञ्जिनियर अशुं गुप्ताले सङ्घीय र प्रदेश सरकारको कार्यक्रम अन्तरगत जनता आवास कार्याक्रम प्रदेश,१ का तीन ओटा जिल्लामा सञ्चालनमा रहेको बताउनुभयो । उहाँले जनता आवास कार्यक्रम अन्तरगत ३ हजार ९ सय घर निर्माण गर्ने योजना अन्तरगत ९ सय ७० ओटा निर्माण गरिएको बताउनुभयो । जनता आवास कार्यक्रम मोरङ, सुनसरी र उदयरपुर जिल्लामा सञ्चालनमा रहेको छ ।

गरिब, विपन्न तथा लोपोन्मुख जातिका लागि प्रति परिवार २ कोठे आवास निर्माण कार्यमा सरकारले ३ लाख ५० हजार रुपियाँ सहयोग गर्दै आएको इञ्जिनियर अशुं गुप्ताले बताउनुभयो ।

अन्तरक्रियामा प्रयास नेपालका अध्यक्ष देवी भण्डारीले सामुदायिक विद्यालयको स्तर सुधार्नका लागि जनप्रतिनिधिहरू लाग्नुको विकल्प नभएको बताउनुभयो । सेतो गुराँसकी सरू केसीले प्रारम्भिक कक्षामा विशेष शिक्षा दिन आवश्यक रहेकोमा जोड दिनुभयो ।

इन्सेक प्रदेश १ संयोजक सोमराज थापाले नयाँ संविधान जारी भएसँगै अधिकारवादी संस्थाहरू आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारमा केन्द्रीत भएको बताउनुभयो । राजनीतिक आन्दोलन सकिएसँगै आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारमा केन्द्रीत रहेर कार्यक्रमहरू शुरू गरिएको उहाँले बताउनुभयो ।

त्यसैगरी फागुन १५ गते रङ्गेली नगरपालिका–२ मा खाद्य अधिकार र सुरक्षाका सवालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । इन्सेक प्रदेश १ कार्यालय विराटनगर,मानव अधिकार समूह र रङ्गेली नगरपालिका–२ वडा कार्यालयको संयुक्त आयोजनामा खाद्य अधिकार र सुरक्षाका सवालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

अन्तरक्रिया कार्यक्रममा सहभागी अधिकांश कृषकले कृषि तथा पशु सेवा कार्यालयबाट प्रभावकारी सेवा नपाएको गुनासो गरे । कार्यक्रमको प्रमुख अतिथि तथा रङगेली नगरपालिकाकी उपमेयर केशवकुमारी खरालले किसानका समस्या जायज भएको बताउनुभयो । उहाँले कृषि तथा पशु सेवा कार्यालयबाट आगामी वर्ष कृषिकका लागि तालिमसहित यन्त्र उपकरण अनुदानमा दिने गरी कार्यक्रम तर्जुमा र बजेट विनियोजन गर्ने बताउनुभयो ।

खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण कार्यालयका खाद्य अनुसन्धान अधिकृत काशीनाथ निरौलालले संविधानले धारा ३६ मा खाद्य अधिकारको व्यवस्था गरेकाले नागरिकको खाद्य सम्प्रभुताको जिम्मा तीन तहको सरकारको रहने बताउनुभयो ।
Photo20200228Morang (1)

Photo20200228Morang (2)

Photo20200228Morang (3)

अन्य

भिडियो