इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय,धनगढीको आयोजनामा पुस २८ गते आवासको अधिकार र सरोकारवालाहरूको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम गौरीगंगा नगरपालिकामा सम्पन्न भएको छ ।
कार्यक्रमका सहभागिहरूले जनता आवास कार्यक्रम प्रभाबकारी नभएको स्थानीय जनप्रतिनिधिहरूसँग गुनासो गरेका छन् ।
कार्यक्रमका सहभागि पदमादेवी बिकले घरजग्गा नभएका कारण आफू शिवगंगा नदिको किनारमा बस्दै आएको गुनासो गर्नु भयो ।
उहाँले भन्नु भयो – ‘स्थानीय सरकारले आफूहरूको समस्या समाधान गर्न ध्यान दिनु पर्ने हो । तर , सम्बन्धित सरोकारवालाहरूले समस्या समाधानमा ध्यान दिएका छैनन् ।’
नरेश शिलाधरले धेरै संघर्षपछि मुक्त हलियाको नामबाट आधा कट्ठा जग्गाको लालपुर्जा पाएको भए पनि आर्थिक अभावका कारण घर बनाउन नसकेको दुखेसो पोख्नु भयो ।
गौरीगंगा नगरपालिकाका नापी शाखा अधिकृत अशोकराज जोशीले राज्यले सञ्चालन गरेको जनता आवास कार्यक्रम ब्यवस्थित र प्रभावकारी नभएको स्विकार गर्दै आगामि दिनमा जनता आवस कार्यक्रमलाई प्रभावकारी र व्यवस्थित गर्नका लागि स्थानीय सरकारले स्पष्ट नीति निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्नु पर्ने बताउनु भयो ।
गौरीगंगा नगरपालिका–.१का वडा अध्यक्ष जगतराम चौधरीले नागरिकको वास्तविक समस्यालाई पहिचान गरेर नगरपालिकाले नीति तथा कार्यक्रम ल्याउन सके समस्याको समाधान गर्न सकिने बताउनु भयो ।
गौरीगंगा नगरपालिका–४ का वडा अध्यक्ष भागरति विष्टले आवासको अधिकार र सरोकारवालाको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रमले नागरिकलाई उनीहरूको अधिकारका बारेमा सचेत पार्ने र सम्बन्धित निकायलाई जवाफदेहि बनाउने कार्यमा महत्वपुर्ण भूमिका खेलेको बताउनु भयो ।
गौरीगंगा नगरपालिका–८ का वडा अध्यक्ष तुलाराम सापकोटाले पीडित व्यक्तिहरूले आफ्ना समस्या समाधानका लागि वडा कार्यालय तथा नगरपालिकालाई निरन्तर रूपमा खबरदारी गर्नु पर्ने बताउनु भयो ।
उहाँले भन्नु भयो – ‘तपाईहरूले उठान गरेका समस्याहरूलाई नगर कार्यापालिको बैठकमा राख्ने छु ।’
कार्यक्रममा मुक्त हलिया, मुक्त कमैया, स्थानीय जनप्रतिनिधि र पत्रकारहरूको सहभागिता रहको थियो ।
