नेपाल मानव अधिकार वर्षपुस्तक २०२० प्रकाशन पुर्व वार्षिक समीक्षा कार्यक्रम पुस १७ गते चौतारामा सम्पन्न भयो । समीक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि नातिबावु धितालले सिन्धुपाल्चोकमा सन् २०१९ को जनवरीदेखि डिसेम्बर ३१ सम्ममा सङ्कलन गरिएका मानव अधिकार उलङ्घन तथा ज्यादतिका घटनाको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा प्रस्तुत गरिएको प्रतिवेदनमा व्यक्तिगत हत्या ८, गोलीद्वारा घाइते १, हिरासतमा यातना दिएको ३, गिरफ्तारीका घटना ३, पुनः गिरफ्तारी १, कार्यस्थलमा कुटपिटका घटना १, बाल अधिकार उलङ्घनका घटना ३०, महिला अधिकार उलङ्घनका घटना ३१, जातीय विभेदका ३, विस्फोट तथा आगजनीका २ गरी ८१ ओटा घटनामा ९८ जना पीडित भएको जनाइएको छ ।
समीक्षा कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख बालकुमारी सापकोटाले इन्सेकको तथ्याङ्कले जिल्लामा मानव अधिकार उलङ्घन तथा ज्यादतिका घटनाहरू विगतको भन्दा यस वर्ष बढेकाले सबैपक्ष संवेदनशिल भएर घटना न्यूनिकरण अभियानमा लाग्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी प्रज्वल महर्जनले प्रहरीलगायत विभिन्न निकायको सचेतना कार्यक्रमले घटनाहरू प्रहरी कार्यालयसम्म आउनेक्रममा बृद्धि भएको उल्लेख गर्दै मानवअधिकार संरक्षणमा प्रहरी सधै क्रियाशिल हुने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला सचिवालय सदस्य रामचन्द्र बस्नेतले मानव अधिकार संरक्षणमा राजनीतिक दलहरूको भूमिका प्रष्ट हुन जरुरी भएको बताउनु भयो । प्रतिबन्धित समूहलाई गिरफ्तारी गरिएको घटनालाई मानव अधिकारसँग हेर्न हुने की नहुने भन्ने कुरामा स्पष्ट हुन आवश्यक रहेको बताउनुभयो ।
राप्रपाका प्रतिनिधि हरिबाहादुर नेपालले सबैपक्षको भूमिकाले मात्र मानव अधिकारको संरक्षण हुने कुरा औल्याउनुभयो । जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख कृष्णप्रसाद सुवेदीले भूकम्पपछि जिल्लाका सबै विद्यालयहरू बालअधिकार मैत्री बनेको र सबै निकायमा बालबालिकाको सहभागिता रहेको बताउनुभयो । गैरसरकारी संस्था महासंघका केन्द्रीय सदस्य राजेन्द्र शर्र्माले स्थानीय सरकारमा दर्ता तथा मिलापत्र भएका घटनाहरू उल्लेख गर्नुपर्ने सुझाव दिनुभयो । जिल्ला नेपाल बार इकाइका सदस्य सशिनाथ आचार्यले प्रहरी समक्ष नआएका र लुकेर बसेका घटनाहरू धेरै हुन सक्ने भएकाले ति घटनाहरूको खोजी इन्सेकले गर्नुपर्ने बताउनुभयो ।
