नागरिकको मौलिक अधिकार रक्षा गर्न प्रदेश र स्थानीय सरकारले प्रतिबद्धता जनाएका छन् । संबिधानले प्रत्याभुत गरेको नागरिकका मौलिक अधिकार रक्षा गर्न प्रदेश र स्थानीय सरकार प्रतिवद्ध भएका हुन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश ३ कार्यालयले पुस १५ गते आयोजना गरेको स्थानीय नागरिकको “शिक्षा, स्वास्थ र खाद्य अधिकार सम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया” कार्यक्रममा प्रदेश सांसद, प्रदेश नीति तथा योजना आयोगका कार्यवाहक उपाध्यक्ष, प्रदेशस्तरीय मन्त्रालयका सचिव तथा स्थानीय तहका जनप्रतिनिधीहरूले नागरिकको मौलिक अधिकारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाएका हुन् । कार्यक्रममा प्रदेश ३ को नीति तथा योजना आयोगका कार्यवाहक उपाध्यक्ष श्यामकुमार बस्नेतले नागरिकको सबैखाले अधिकार सुनिश्चिततासँगै कर्तव्यबोध पनि गराउनुपर्ने बउनुभयो । शिक्षा, स्वास्थ तथा खाद्य अधिकार नागरिकको मौलिक अधिकारभित्र पर्ने भएकोले अधिकारको रक्षा गर्दै प्राप्तिका लागि नागरिकको कर्तव्य केहो भन्ने कुरामा पनि छलफल गर्नु आवश्यक रहेको बस्नेतले बताउनुभयो ।
कार्यक्रममा प्रदेश ३ का सांसद प्रेमबहादुर पुलामीले नागरिकका हक अधिकारका लागि थुप्रै कानुनहरू निर्माण भएका र निर्माणको क्रममा पनि रहेको भन्दै बनेका कानुनको कार्यान्वयन भए नभएको पनि ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रममा प्रदेश ३ सामाजिक विकास मन्त्रालय शिक्षा महाशाखा प्रमुख दिपेन्द्र सुवेदीले नागरिकको शिक्षा, स्वास्थ र खाद्य अधिकारलाई प्राथमिकतामा राखेर कार्यक्रमहरू अघि बढाएको बताउनुभयो । मन्त्रालयले नागरिकको स्वास्थ, शिक्षालगायतको मौलिक अधिकार सुनिश्चित गर्न विभिन्न कार्याक्रम ल्याएको बताउनुभयो । “हामीले मुख्यमन्त्री जनता स्वास्थ्य योजना, एक विद्यालय एक नर्स कार्यक्रम, जिल्ला अस्पताल सुदृढिकरण कार्यक्रम, सरसफाई सम्बन्धी प्रदेशस्तरीय कार्यक्रम, शिक्षामा सबै नागरिकको पहुँच विस्तारका लागि सामुदायिक विद्यालयमा बस वितरण, गुणस्तरीय शिक्षाको लागि विभिन्न कार्यक्रमहरू सञ्चालन ल्याएका छौं” उहाँले भन्नुभयो । प्रदेशलाई बाल विवाह मुक्त प्रदेश बनाउन तयारी कार्यक्रम पनि अघि बढाएको उहाँले बताउनुभयो । यसैगरी कृषितर्फ बिषदीरहित तरकारी खेतीको लागि प्रोत्साहन कार्यक्रम गर्दै आएको उहाँले बताउनुभयो ।
कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाकी उपप्रमुख मिनाकुमारी लामाले उपमहानगर भित्रका नागरिकका लागि हरेक वडामा स्वास्थ केन्द्र स्थापना, पाटन अस्पतालसँगको सहकार्यमा बृद्धबृद्धाको लागि घरदैलो उपचारसेवा, बिषादीरहित करेसा खेती, क्षयरोगी पत्ता लगाउन हेल्थ क्याम्पजस्ता कार्यक्रमहरू गर्दै आएको बताउनु भयो । यस्तै विपन्न नागरिकका लागि निशुल्क स्वास्थ बीमा, शिक्षामा सहजताका लागि सामुदायिक विद्यालयमा बस सेवा सञ्चालन कार्यक्रमहरू उपमहानगरले गर्दै आएको र नागरिकको सबै अधिकारलाई प्राथमिकताका साथ पुरा गर्ने उपप्रमुख लामाले बताउनुभयो ।
कार्यक्रममा मनहरी गाउँपालिकाका शिक्षा शाखा प्रतिनिधि तथा स्रोत व्यक्ति पूर्णभद्र भुसालले मकवानपुरको मनहरीमा करीब ३० जना बालबालिका अझै पनि शिक्षाको पहुँच बाहिर रहेको बताउनुभयो । विभिन्न कारणले उनीहरूलाई विद्यालयमै टिकाइराख्न समस्या परिरहेको भुसालले बताउनुभयो । हेटौँडा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर प्रविण श्रेष्ठले स्वास्थकर्मीको अभावमा राज्यले तोकेको सेवा प्रदान गर्न समस्या रहेको बताउनुभयो ।
कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा संयोजक सुपेन्द्र कार्की, कृषि शाखा प्राविधिक रुपा खतिवडा, सिविन बाल हेल्प लाईन मवानपुरका कार्यक्रम संयोजक झविन्द्र ज्ञवाली, मानव अधिकार संरक्षण तथा मानव बेचविखन विरुद्धको जिल्ला सञ्जाल संयोजक आरती पाठक लगायतले व्यक्तिको मौलिक हकको प्रत्याभुत गर्न अझै पनि चुनौति रहेको बताउनु भएको थियो । कार्यक्रमको अध्यक्षता गर्दै इन्सेक प्रदेश ३ संयोजक कृष्ण गौतमले स्थानीय जनता र पालिका बीचको खाडल पुर्न, सरकारका नीति तथा कार्यक्रम र सेवासुविधा जनताकोको घरदैलो सम्म पुर्याउन मानव अधिकार समूहमार्फत काम गर्दै आएको ताउनु भयो । उहाँले राज्यले शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका लागि ठूलो धनराशी खर्च गरे पनि लक्षित वर्ग र समुदायको पहुँचमा अझैसम्म पुग्न नसकेको बताएनु भायो