स्थानीय समुदायको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका लागि जिममेवार निकायलाई जबाफदेही बनाउने पहल कार्यक्रम अन्तर्गत अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले चाँगु नारायण नगरपालिकाको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारसम्बन्धी टेलिभिजन सम्वाद कार्यक्रम पुस १३ गते सम्पन्न भएको छ ।
कार्यक्रममा इन्सेक प्रदेश ३ का संयोजक कृष्ण गौतमले संविधान र कानुनले दिएको अधिकारलाई स्थानीय तहले गर्ने कार्यान्वयनमा कसरी जबाफदेही बनाउने भन्ने विषयमा कार्यक्रम केन्द्रित रहेको बताउनुभयो ।
“शिक्षा, स्वास्थ्य र खाद्य अधिकारकाबारेमा सरकारका कार्यक्रमहरू छन् । तर, सेवाग्राहीलाई जानकारी नहुँदा अधिकार पाएका छैनन् ।”–संयोजक गौतमले भन्नुभयो–“संविधान र राज्यले दिएका अधिकारलाई कसरी स्थानीय सेवाग्राहीसम्म पु¥याउने र सेवाग्राही संस्थालाई कसरी जबाफदेही बनाउन सकिन्छ भनेर इन्सेक सक्रिय छ ।”
सेवाग्राही स्थानीयलाई नगरपालिकाले प्रदान गर्ने शिक्षा, स्वास्थ्य र खाद्य अधिकारकोबारेमा जानकारी गराउने उदेश्यले कार्यक्रम सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो ।
कार्यक्रममा चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्रले जनप्रतिनिधि आएपछि नगरपालिकाले शिक्षाको क्षेत्रमा ठूलो फड्को मारेको बताउँदै नगरपालिकामा स्कुल जाने उमेर समूहका ५ देखि १४ वर्षका कोही पनि स्कुल बाहिर नरहेको दावी गर्नुभयो ।
कक्षा ८ मा यसवर्ष स्थानीय पाठ्यक्रम लागू गरेको र अर्को वर्ष कक्षा ६ र ७ मा पनि स्थानीय पाठ्यक्रम लागू गर्ने बताउँदै उहाँले गुणस्तरीय शिक्षाका लागि शिक्षकहरूलाई तालिम दिने, शिक्षकलाई स्वेच्छिक अवकाशमा नगरपालिकाले १ लाख रुपियाँ रकम प्रदान गर्ने कार्यको थालनी गरेको बताउनुभयो ।
मेयर मिश्रले आगामी १० वर्षमा नगरपालिकाबाट निजी विद्यालय विस्थापित हुने र सामुदायिक विद्यालयको गुणस्तर बृद्धि हुने दावी गर्दै यस नगरपालिकामा प्राविधिक शिक्षा सुरू गर्नुको साथै चाँगुनारायण इन्जिनियरिङ्ग कलेजको समेत स्वामित्व ग्रहण गर्दै स्थानीयका लागि सर्वसुलभ इन्जिनियरिङ्ग पढाइको पहुँच पु¥याउने प्रयास गरिरहेको बताउनुभयो ।
“अब चाँगुनारायण नगरपालिकाका महिलाहरू सुत्ेकरी हुन नसकेर ज्यान गुमाउने पर्ने अवस्थाको अन्त्य भएको छ । मातृ मृत्युदर र बाल मृत्युदर शून्यमा झार्न नगरपालिकाले बर्थिङ्ग सेन्टर संचालनमा ल्याएको छ ।”–मेयर मिश्रले भन्नुभयो–“नगरपालिकाको एम्बुलेन्सले निःशुल्क बर्थिङ्ग सेन्टरमा लैजान्छ । सुत्केरी भएपछि भोटो सहित लुगा र २ हजार ८ सय रुपियाँ दिएर फेरि एम्बुलेन्समा निःशु्ल्क घर फर्काउने व्यवस्था गरेका छौँ ।”
चाँगुनारायणमा कृषितर्फ ठूलो बजेट नआएको र ठूला बजेट नआउँदा कृषकहरूलाई प्रभावकारी बजेट दिन नसके पनि कृषि चुनमा ५० प्रतिशत अनुदान दिएको, कृषिमा ५० लाख रुपियाँ र पशुमा ३० लाख बजेट विनियोजन गरेको बताउँदै उनले नगदेबाली तर्फ उत्प्रेणा दिँदै चिया, कफि खेती सुरू गर्न सहयोग गरेको, कृषिमा तालिमको व्यबस्था गरेको, सामुहिक खेती गर्नेलाई विभिन्न सेवाहरू दिएको र बजेटको अभाव नभएको उहाँको भनाइ छ । पशुतर्फ प्राबिधिक जनशक्तिको अभाव भएपनि सबै वडामा पालैपालो सेवा प्रवाह गरिरहेको, नश्ल सुधारका कार्यहरू अगाडि बढाएको बताए ।
मेयर मिश्रले आगामी ३० महिनाभित्र चाँगुनारायण जाने सबै ठूला र सानो सडकहरू सबै कालोपत्र हुने, प्रत्येक घरमा शुद्ध खानेपानी सहितको धारो व्यवस्था गर्ने, एक महिला एक तालिमको व्यवस्था, उत्पादनमुखी कृषिका लागि आवश्यक बजेट व्यवस्था गर्ने, सबै नागरिकमा स्वास्थ्यको पहुँच पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
