मानव अधिकार वर्ष पुस्तकको लागि सङ्कलित घटनाहरूको पुर्व वार्षिक समीक्षा तथा जिल्लाको मानव अधिकारको अवस्थाको बारेमा अन्तरक्रिया कार्यक्रम पुस ४ गते दमौलीमा सम्पन्न गरिएको छ ।
मानव अधिकार वर्ष पुस्तकको लागि सङ्कलित घटनाहरूको बारेमा सरोकारवाला निकायको सुझाव सङ्कलन गर्ने उद्धेश्यले सो कार्यक्रम आयोजना गरिएको थियो ।
सो कार्यक्रममा बोल्दै निमित्त प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले मानव अधिकारले नछोएको कुनै क्षेत्र नहुने भन्दै यो सबैसँग सम्बन्धित र सबैको सरोकारको विषय भएको बताउनु भयो ।
मानव अधिकारको विषय राज्यको हैसियतसँग पनि सम्बन्ध राख्ने हुँदा राज्यले आफ्नो हैसियत अनुसार नै मानव अधिकारको प्रत्याभूति गराइरहेको उहाँले बताउनु भयो ।
इन्सेकको प्रतिबेदनले जिल्लाको समग्र मानवअधिकारको अवस्था बुझ्न मद्धत पुग्ने भन्दै उहाँले राज्यको तर्फबाट पनि केही कमीकमजोरी भएमा त्यसलाई सच्याउनु पर्ने बताउनु भयो ।
राज्य मानव अधिकारको संरक्षक भएका कारण मानव अधिकारको संरक्षण गर्ने क्रममा कहिँकतै केही कमजोरी भएमा इन्सेक जस्ता मानव अधिकारवादी सङ्घसंस्था र सञ्चाल क्षेत्रले राज्यलाई खबरदारी गरिरहनु पर्ने उहाँको भनाइ थियो ।
सो कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला सचिव राजेन्द्रकेशरी न्यौपानेले इन्सेकले उपलब्ध गराएको तथ्याङ्क सहितको प्रतिवेदनले राजनीतिक पार्टीलाई पनि आफ्नो बैठकहरूमा छलफल गर्ने आधार हुने बताउनु भयो ।
यो प्रतिवेदनले जिल्लाको मानव अधिकारको अवस्थाको बारेमा प्रष्ट हुने भन्दै उहाँले मानव अधिकारको विषय विश्वव्यापी र सबैका लागि भएको हुँदा राज्यले यसमा विभेद गर्न नहुने बताउनु भयो ।
संविधानले पनि मानव अधिकारका विषयवस्तुलाई मौलिक हकको रुपमा व्यवस्था गरेको हुँदा ति हकहरू जनताले प्रत्याभुत गर्न पाउनु पर्ने उहाँको भनाइ थियो ।
अहिले शान्तिपुर्ण प्रतिस्पर्धाको माध्यमबाट आफ्ना लोकतान्त्रिक अधिकारहरू प्राप्त गर्न सकिने र नागरिकको जिउ धनको सुरक्षा गर्ने दायित्व राज्यको भएको हुँदा अलोकतान्त्रिक गतिविधिलाई निस्तेज पार्न त्यस्तो गतिविधिमा संलग्न भएका केही व्यक्तिलाई नियन्त्रणमा लिएको उहाँले बताउनु भयो ।
नेपाली कांग्रेसका जिल्ला सदस्य एवम् व्यास नगरपालिकाका पुर्व मेयर ताराप्रसाद श्रेष्ठले इन्सेकको प्रतिवेदन यथार्यपरक र पुर्वाग्रहरहित भएको बताउनु भयो ।
सबैले आआफ्नो कमजोरी स्वीकार्नु पर्ने र सच्चिनु पर्ने भन्दै उहाँले इन्सेक जस्ता सङ्घसंस्थाले मानव अधिकारको अनुगमन गरिरहेको बारेमा पनि सबै पक्ष सचेत हुनु पर्ने बताउनु भयो ।
मौलिक हकमा व्यवस्था गरिसकेपछि शिक्षा र स्वास्थ्य जस्तो संवेदनशील विषयमा राज्य गम्भीर बन्नु पर्ने उहाँको भनाइ थियो ।
नेपाल पत्रकार महासङ्घ तनहुँका अध्यक्ष ओमकार आचार्यले मानव अधिकारको विषयवस्तुको बारेमा सबै नागरिकले जानकारी राख्न सकेमा महिला तथा बाल अधिकार हनन्का घटनाहरूमा कमी आउन सक्ने बताउनुभयो ।
उहाँले मानव अधिकार हनन्का घटनाहरूमा कमी ल्याउन सचेतनाका कार्यक्रम सञ्चालन गर्नु पर्ने बताउनु भयो ।
सो कार्यक्रममा तनहुँ सहयोगी समूहका अध्यक्ष श्रीराम कँडेलले एचआइभी सङ्क्रमितहरूका बालबालिकाले पछिल्लो समय छात्रवृत्ति नपाएको बताउनु भयो ।
ज्येष्ठ नागरिक मिलन केन्द्रका पुर्व अध्यक्ष देवनिधि पन्थले ज्येष्ठ नागरिकलाई यातयात र स्वास्थ्य क्षेत्रमा सहुलियत कार्यान्वयन नभएको बताउनु भयो ।
सो कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले सन २०१९ को तनहुँ मानव अधिकारको अवस्था तथा नेपाल मानव अधिकार वर्ष पुस्तकका लागि सङ्कलित घटनाहरूको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
यस अवधिमा तनहुँमा सङ्कलन गरिएका १ सय ५ ओटा मानव अधिकार हनन् र ज्यादतीका घटनाहरूको विवरण प्रस्तुत गरिएको थियो ।
जसमा घरेलु हिंसाका ६५, बलात्कारका १४, बलात्कार प्रयासका चार, गिरफ्तारीका १२, हत्याका दुई, सम्पत्ति कब्जाको एक, आगजनीका दुई, कुटपिटको एक, र जातीय विभेदको एउटा घटना रहेका छन् ।



