मानव अधिकारमैत्री कानुनका हिसावले नेपाल दक्षिण एसियाकै उत्कृष्ट रहेको प्रदेश ५ का मुख्य न्यायाधीवक्ता ठाकुरकुमार डिसीले बताउनुभएको छ ।
इन्सेकले पुस ३ गते बुटवलमा आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो कुरा बताउनुभएको हो ।
इन्सेकले राज्यको ध्यान पुग्न नसकेको र राज्यको ध्यान पुर्याउनुपर्ने ठाउँमा राज्यलाई झक्झकाउने काम गरेको भन्दै उहाँले इन्सेकको खुलेर प्रशंशा गर्नुभयो ।
कार्यक्रममा इन्सेकका महासचिव रूद्रबहादुर चर्मकारले इन्सेकले मानव अधिकारको अवस्थाका विषयमा अनुगमन तथा अभिलेखिकरण गरिरहेको अवस्थामा विगतमा भन्दा हिंसाका घटनाहरू बढेको बताउनुभयो ।
उहाँले द्वन्द्वकालिन अवस्थामा जे जति घटनाहरू भए ती घटनाहरूका पीडितले न्याय नपाएकोले पीडितको न्यायका लागि राज्य संवेदनशिल भएर लाग्नुपर्ने बताउनुभयो ।
महासचिव चर्मकारले इन्सेकले मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको अभिलेखिकरण गरेर सरकारलाई अनुसन्धानमा सहयोग पुर्याउँदै आएको बताउनुभयो ।
उहाँले भन्नुभयो–‘इन्सेकले घटना अभिलेखिकरण मात्र गर्देन । त्यसको विश्लेषण पनि गर्दै आइरहेको छ ।’
इन्सेकले पैरवी गर्ने, खबरदारी गर्ने, पहरेदारी गर्ने, सक्रिय नागरिक निर्माण गर्ने र सुशासनको क्षेत्रमा काम गर्ने गरेको उहाँको भनाइ छ ।
जिल्ला प्रशासन कार्यालय रूपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले इन्सेकले ७७ ओटै जिल्लाको मानव अधिकार अवस्थाका विषयमा काम गरेको भन्दै प्रशंशा गर्नुभयो ।
उहाँले मानव अधिकारको संरक्षणको क्षेत्रमा कहाँ कहाँ राम्रो काम भएको छ त्यस विषयमा पनि अभिलेखिकरण गर्न इन्सेकलाई सुझाव दिनुभयो ।
शर्माले सरकारलाई आएका सुझावहरूलाई कार्यान्वयन गर्नका लागि सम्बन्धित निकायलाई पत्राचार गर्ने प्रतिबद्धता गर्नुभयो ।
जिल्ला प्रहरी कार्यालयका एसपी हेमबहादुर थापाले मानव अधिकारको संरक्षणका लागि प्रहरी सधैँ संवेदनशील भएर लागेको बताउनुभयो ।
उहाँले भन्नुभयो–‘मान्छेको बाँच्न पाउने अधिकारको संरक्षण गर्नुपर्ने राज्यको दायित्व हो । यसका लागि प्रहरी संवेदनशील भएर काम गरिरहेको छ ।’
कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि रीमा बिसीले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० का लागि सङ्कलन गरिएका ३ सय ५५ ओटा घटना प्रस्तुत गर्नुभएको थियो ।
सङ्कलित घटनामा बालिका बलात्कारका २९, यौन दुव्र्यवहारका १३, महिला बलात्कारका १८, बलात्कार प्रयासका पाँच ओटा घटना रहेका छन् ।
त्यसैगरी मानव बेचबिखन तथा ओसारपसारका सात, जातीय विभेदको एउटा, नागरिक तथा राजनीतिक अधिकारका १२ ओटा, राज्यपक्षबाट हत्याका दुई ओटा, अन्यपक्षबाट हत्याका पाँच ओटा, बहुविवाहका ४७ ओटा र घरेलु हिंसाका २ सय ८ ओटा घटनाको तथ्याङ्क कार्यक्रममा प्रस्तुत गरिएको थियो ।
राष्ट्रिय मानव अधिकार आयोग प्रदेश ५ का उपनिर्देशक पवनकुमार भट्टले मानव अधिकारको सबैभन्दा महत्वपूर्ण सम्पत्ति भनेको अभिलेखिकरण भएकाले इन्सेकले मानव अधिकारको क्षेत्रमा महत्वपूर्ण का मगर्दै आएको बताउनुभयो ।
नेकपाका नेता तेजेन्द्र केसीले इन्सेक नेपालको प्रजातान्त्रिक योद्धाको रूपमा रहेको भन्दै प्रसंशा गर्नुभयो । उहाँले इन्सेकले मानव अधिकारको अनुगमन, अभिलेखिकरण र पैरवी गर्दै आएकाले मानव अधिकारको संरक्षणको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।
नेपाली कांग्रेस बुटवल उपमहानगरपालिका सचिव ज्योति भण्डारीले दुई तिहाईको सरकारले जनताले अनुभूति गर्ने खालको काम गर्न नसकेको आरोप लगाउनुभयो ।
उहाँले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको सटरमा व्यवसाय सञ्चालन गर्ने व्यवसायीहरूको पेसा डुब्न लागेको विषयमा पनि इन्सेकले अनुगमन र अभिलेखिकरण गर्न आग्रह गर्नुभयो ।
नेपाल पत्रकार महासंघका रूपन्देहीका उपाध्यक्ष दिनेश पाण्डेले मानव अधिकारको कुरा गर्दा कर्तव्यलाई सँगसँगै जोडेर लैजाउनुपर्ने बताउनुभयो ।
इन्सेक प्रदेश ५ का संयोजक भोला महतले समीक्षामा यसैगरी सबै सरोकारवालाहरूको सल्लाह र सुझाव सङ्कलन गरी सम्पादन गर्दै आइरहेको बताउँदै आगामी दिनमा वर्ष पुस्तकलाई अझ परिस्कृत गर्दे लैजाने बताउनुभयो ।






