अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जाजरकोटको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० प्रकाशनपुर्व वार्षिक समीक्षा पुस २ गते जाजरकोट सदरमुकाममा सम्पन्न गरिएको छ ।
समीक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि दिनेशकुमार श्रेष्ठले सन् २०१९ मा सङ्कलन गरिएका ४६ ओटा घटना विवरण सहभागीमाझ प्रस्तुत गर्नुभएको थियो ।
जसमा घरेलु हिंसासम्बन्धी ११ ओटा, बलात्कार तथा यौनजन्य घटनासम्बन्धी १८ ओटा, बहुविवाहसम्बन्धी तीनओटा, हत्यासम्बन्धी दुई ओटा, अभद्र व्यवहारसम्बन्धी एउटा र राजनीतिक तथा नागरिक अधिकारसम्बन्धी आठओटा घटना रहेको जिल्ला प्रतिनिधि श्रेष्ठले बताउनुभयो ।
कार्यक्रममा जिल्ला बार एकाईका अध्यक्ष भिमबहादुर सिंहले अशिक्षा, चेतना र कानुनी ज्ञानको अभावका कारण महिला हिंसाका घटनाहरू नै जिल्लामा बढी पाइनुका साथै लक्षित कार्यक्रम पनि प्रभावकारी हुन नसकेको भनाइ राख्नुभयो ।
नेपाल मानव अधिकार सङ्गठनका सभापति केदारबहादुर शाहले जिल्लामा रहेका हरेक निकायबाट मानव अधिकार संरक्षणका लागि बजेट विनियोजन भएपनि जुन बर्गको बजेट छुट्याइएको हो त्यो वर्गसम्म बजेट खर्च नहुने सभापति शाहले बताउनुभयो ।

