अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) डोटीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० का लागि सङ्कलित घटनाको प्रकाशन पुर्व वर्षिक समीक्षा कार्यक्रम पुस १ गते सिलगढीमा सम्पन्न गरिएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले वार्षिक पुर्व समीक्षा कार्यक्रममा प्रस्तुत गरिएका घटनाहरूलाई हेर्दा सबै घटनाहरू सत्यतथ्यमा आधारित रहेको बताउँदै यस कार्यक्रममार्फत सम्पुर्ण सरोकारवालाहरूलाई जिल्लाको मानव अधिकारको अवस्थाका बारेमा जानकारी गराएको बताउनु भयो ।
उहाँले जिल्लामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतिका घटनाहरूमा कमी ल्याउन आफूहरू प्रयासरत रहेको भएता पनि बलात्कार र यौन दुव्र्यवहारका घटनाहरू गत वर्षभन्दा बढी देखिएकाले सुरक्षा निकायले पनि विशेष ध्यान दिनु पर्ने बताउनु भयो ।
जिल्ला बाल सुधार गृह, डोटीकी प्रमुख सानुमाया लिम्बुले समाजमा दैनिक रूपमा विभिन्न किसमका घटनाहरू दिनप्रतिदिन बढ्दै गएकाले घटना न्युनिकरणका लागि स्थानीय तहमा रहेको न्यायिक समिति र सरोकारवाला निकायले ध्यान दिनु पर्ने बताउनु भयो ।
दिपायल सिलगढी नगरपालिका शिक्षा एकाई प्रमुख मञ्जु थापाले गाउँबस्तीमा चेतनाको कमी हुने गरेकोले समाजमा घरेलु हिंसा लैङ्गिक हिंसा र विभिन्न किसमका दुर्व्यवहारका घटना गाउँबस्तीमा बढी हुने गरेकाले स्थानीय नागरिकलाई मानव अधिकारको शिक्षा तथा जनचेतना दिन जरूरी रहेको बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालय, डोटीका इन्स्पेक्टर सुरेन्द्र बमले जिल्लामा कुनैपनि किसमका घटनाहरू हुन नदिन नागरिक समाज बृद्धिजिबी र बिभिन्न पेशाकर्मीहरूले पनि सहयोग गनु पर्ने बताउनु भयो ।
दिपायल सिलगढी नगरपालिका–९ का वडा अध्यक्ष धर्म साउदले समाजमा हुने गरेका घटनाहरूलाई समाजमै मिलाउन खोज्ने प्रचालनले पनि घटनाहरू बारम्बार हुने गरेकोले मिलापत्रमा भन्दा पनि कानुनी प्रक्रियामा लैजानु पर्ने बताउनु भयो ।
मानव अधिकार समुहकी संयोजक सिता बिकले समाजमा अझै चेतनाको अभाव रहेकोले स्थानीय सरकारले विकास निर्माणका साथसाथै जनचेतनामुलक कार्यक्रममा पनि ध्यान दिनु पर्ने बताउनु भयो ।
पत्रकार तथा मानव अधिकारकर्मी नवराज जोशीले इन्सेकले मानव अधिकार उल्लङ्घनका घटनाको सत्यतथ्य तथ्याङ्क सङ्कलन गरी प्रकाशन गर्दै आएकोले सरोकारवाला पक्षलाई जिम्मेवार बन्न आवश्यक रहेको बताउनु भयो ।
गरेकोले देशभरका वास्तविक घटनाको पहिचान गरि जनतालाई जानकारी गराउन सफल रहेको बताउनु भयो ।
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पुर्व समीक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि बासुदेब जोशीले सन् २०१९ जनवरीदेखि डिसेम्वरसम्म सङ्कलन गरेका ६२ ओटा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरू प्रस्तुत गर्नु भएको थियो ।
नागरिक तथा राजनीतिक अधिकार उल्लङ्घनका ६ ओटा, आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार उल्लङ्घनका दुई ओटा, घरेलु हिंसाका ३३ ओटा, मानव बेचबिखन र ओसारपसार एउटा, यौन दुर्व्यवहार एउटा, बलात्कारका नौ ओटा र बलात्कार प्रयासका १० ओटा घटना सङ्कलन गरिएको प्रतिवेदनमा समेटिएको छ ।



