अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश कार्यालय हेटौँडाद्वारा सञ्चालित स्थानीय समुदयलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने (इएलपी) परियोजना अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिकामा मानव अधिकार समूह गठन गरिएको छ ।
गाउँपालिका उपाध्यक्ष मलिना विष्टको उपस्थितिमा समूह गठन गरिएको हो । स्थानीय स्तरमा जोखिममा परेका समुदाय महिला, बालबालिका, दलित, अल्पसङख्यलगायत पछाडि पारिएका समुदायको सरकारी सेवा तथा सुविधामा पहुँच बढाउने लक्ष्यले यो कार्यक्रम लागु भएको हो ।
यस अन्तर्गत गठित मानव अधिकार समूहले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारमाथि पहँुचका लागि मागदावी गर्न क्षमता वृद्धि गर्ने र अधिकारहरुको परिपुर्तिको लागि स्थानीय सरकार तथा सम्बन्धित निकायलाई जबाफदेही बनाउने भूमिका निर्वाह गर्नेछ ।
मङ्सिर २९ गते भएको भेलाले सो गाउँपालिकाको सबै वडाको प्रतिनिधित्व हुने गरी बिमला गोपालीको संयोजकत्वमा १३ सदस्यीय मानव अधिकार समूह गठन गरेको हो ।
समूहको सचिवमा दिपेन्द्र अधिकारी रहनुभएको छ । यसैगरी सदस्यहरुमा शिवकुमार काशी, विशाल लामा, लक्ष्मी गोले, लक्ष्मण स्याङ्तान, लोकेन्द्र कार्की, सुन्तली वनकरीया, गोपिलाल मोक्तान, कल्पना सुवेदी, नविन सुवेदी, नारायण उप्रेति र प्रल्हाद लम्साल रहुनभएको छ ।
समूहको पहिलो बैठकले आगामी २ महिनाभित्र आफूले प्रतिनिधित्व गरेको वडामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको क्षेत्रमा समस्या पहिचान गर्ने निर्णय गरेको इन्सेक सहजकर्ता सरिता दाहालले बताउनुभयो ।