छेडागाड नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको संरक्षण गर्ने यहाँका जनप्रतिनिधिहरूले प्रतिबद्धता जनाएका छन् ।
इन्सेक जाजरकोटको आयोजनामा मङ्सिर १९ गते छेडागाड नगरपालिकाको मनघाटमा सम्पन्न मानव अधिकारको अवस्था र शिक्षा, स्वास्थ्य, खाद्य, आवासको अधिकार विषयक अन्तरक्रिया कार्यक्रमका सहभागी जनप्रतिनिधिले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
कार्यक्रममा सहभागीहरूले छेडागाड नगरपालिकाभित्रका शिक्षकहरूको विद्यालयमा अनियमितता, गुणस्तरहीन शिक्षा, समयमै पठ्यपुस्तक नपुग्ने र विद्यालयमा आवश्यक शिक्षक दरबन्दी नहुँदा भएका समस्याहरू राखेका छन् ।
अन्तरक्रिया कार्यक्रममा छेडागाड नगरपालिकाकी उपप्रमुख सरिता वलीले छेडागाड नगरपालिका भित्र रहेका शिक्षा, स्वास्थ्य, खाद्य र आवास लगायतका समस्या समाधानबारे गम्भीर रहेको बताउँदै केही जटिल खालका समस्यालाई पहल गराउनका लागि अरू तहका सरकारसँग समन्वय गर्ने अभियानमा नगरपालिका रहेको जानकारी दिनुभयो ।
उपप्रमुख वलीले नगरपालिकाबाट हुने सेवा प्रवाहमा भएका कमी कमजोरी बारे मानव अधिकार समूहले नगरपालिकालाई जानकारी गराउन समेत आग्रह गर्नुभयो ।


