बर्दिवास नगरपालिकाका प्रमुख विदुर कार्कीले मानव अधिकार समूहसँग समन्वय र सहकार्य गर्दै मानव अधिकारका क्षेत्रमा काम गर्न तयार रहेको बताउनुभएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ जनकपुरधामको आयोजना तथा बर्दिवास नगरपालिकाको समन्वयमा मङ्सिर १० गते स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने (इएलपी) परियोजनाको परिचयात्मक तथा मानव अधिकार समूह गठन कार्यक्रममा नगर प्रमुख कार्कीले सो कुरा बताउनुभएको हो ।
उहाँले अधिकार र कर्तव्य एक सिक्काको दुई पाटा भएको हुँदा नागरिकले अधिकार माग गर्दा कर्तव्य पालनालाई बिर्सन नहुने बताउनुभयो ।
संविधानले नागरिकका अधिकार र कर्तव्यको बारेमा प्रष्ट उल्लेख गरेको भन्दै मेयर कार्कीले मौलिक हकको कार्यान्वयन भएमा नै मानव अधिकारको प्रत्याभूति हुने र त्यसका लागि नागरिकमा शिक्षा र सचेतना आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा उपमेयर कृष्णमाया गौतमले नगरपालिकाले दलित, जनजाती, अल्पसङ्ख्यक, महिला र बालबालिका लगायतका लक्षित वर्गलाई विशेष प्राथमिकता दिएको हुँदा इन्सेकको यस परियोजनाले त्यस क्षेत्रलाई सम्बोधन गर्न सक्नुपर्ने बताउनुभयो ।
उहाँले कुरीति, कुप्रथा र अन्धविश्वासलाई हटाउने खालको जागरणका कार्यक्रम पनि सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
इन्सेक प्रदेश २ का संयोजक राजु पासवानले इन्सेकले मानव अधिकार उल्लङ्घनका घटनाहरूको अभिलेखन कार्य मात्र नगरी मानव अधिकार प्राप्तिकोे लागि सचेतनाका साथै बहस पैरवीको पनि काम गरिरहेको बताउनुभयो ।
उहाँले शिक्षा, स्वास्थ्य, खाद्य तथा आवासको सवालमा यस परियोजनाले नगरपालिकासँग समन्वय गरी मानव अधिकारको प्रत्याभूति गराउन महत्वपुर्ण भूमिका खेल्ने अपेक्षा राखेको बताउनु भयो ।
कार्यक्रममा १७ सदस्यीय मानव अधिकार समूह समेत गठन गरिएको छ । नवगठित समूहमा चन्द्रबहादुर बिक, बिदुर काफ्ले, उर्मिला कार्की, झिल्लीप्रसाद पोखरेल, ललन मण्डल, रुद्रमणी पोखरेल, भोला श्रेष्ठ, शङ्कर महतो, केशवबहादुर श्रेष्ठ, खीलबहादुर पाण्डे, हासिम बैठा, ठकाई महतो, मीठु माया पराजुली(खिलमाया), बिदुर भट्टराई, सुनिता बराल, टिकाबहादुर बस्नेत(गणेश) र पवित्रा गौतम चयन हुनुभएको छ ।
चयन भएका सदस्यहरूको अगामी बैठकले पदाधिकारी छनौट गर्ने निर्णय भएको इएलपी कार्यक्रममा सहजकर्ता सिता केसीले बताउनुभयो ।

