अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले नेपाल मानव अधिकार वर्ष २०२० का लागि सङ्कलित घटनाहरूको प्रकाशन पुर्व अर्धवार्षिक समीक्षा असार १५ गते बझाङमा सम्पन्न गरेको छ ।
सन् २०१९ जनवरीदेखि जुनसम्म बझाङ जिल्लामा सङ्कलन गरेका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरू इन्सेक बझाङ जिल्ला प्रतिनिधि रमेश केसीले प्रस्तुत गरेका थिए ।
इन्सेक प्रतिनिधि केसीले ६ महिनाको अवधिमा २३ ओटा घटना अभिलेख गरेको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
जसमध्ये हत्या प्रयाससम्बन्धी तीन, बलात्कारका दुई र घरेलु हिंसाका १८ ओटा घटना रहेका छन् । जिल्ला समन्वय समिति संयोजक खडक खड्काले इन्सेकले मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना सङ्कलन तथा प्रसारण गर्ने कार्यले राज्यलाई सचेत र पीडितलाई न्यायको लागि सहयोग पुग्ने बताउँदै बझाङ जिल्लामा घटना न्यूनीकरण गर्न स्थानीय सरकारसँग समन्वय गरी अगाडि बढ्न सुझाव दिएका थिए ।
सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर सार्कीले जिल्लामा घरेलु हिंसा र छुवाछुतका घटनाहरूका कमी नआएको बताउँदै यसको अन्त्यका लागि सबै सरोकारवाला पक्षहरू इमान्दार भएर लाग्नु पर्ने बताए ।
महिला अधिकार मञ्चकी अध्यक्ष जयन्ति जोशीले महिलाहरूमाथि हुने हिंसामा कमी नअएको बताउँदै यसको अन्त्यका लागि आफूहरू इन्सेकसँग सहकार्य गरेर अगाडि बढन चाहेको धारणा राखिन् ।


