इन्सेक नेपालगञ्जको आयोजनामा असार १५ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न भएको छ ।
कार्यक्रममा इन्सेक प्रदेश ५ का संयोजक भोला महतले इन्सेकले वर्ष पुस्तकलाई समय सापेक्ष परिमार्जन गर्दै आएको बताउँदै पछिल्लो समय आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकारका विषयलाई प्राथमिकता दिँदै आएको बताए ।
कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि स्मृति देवकोटाले जिल्लामा सङ्कलन गरिएका हत्याको एउटा, धम्की/कुटपिटका दुई ओटा, गिरफ्तारीका ६ ओटा, बाल अधिकार उल्लङ्घनका ६ ओटा, बलात्कार तथा यौन दुर्व्यवहारका पाँच ओटा , परिवारजनबाट हत्या पाँच ओटा घरेलु हिंसाका कारण आत्महत्या गरेको भन्दै प्रहरीमा उजुरी परेका तीन ओटा, मानव बेचबिखन तथा ओसार पसारका तीन ओटा, घरेलु हिंसाका ५९ ओटा र कैदीले आत्महत्या गरेको एउटा गरी ९१ ओटा घटना रहेको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रममा मानव अधिकार आयोग नेपालञ्जका प्रमुख चन्द्रकान्त चापागाईले मानव अधिकारको पहुँचमा रहेका सबै घटनाहरूलाई समेट्दै जानुपर्ने बताए ।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले इन्सेकका प्रकाशनहरू नियमित अध्ययन गर्दै आएको बताउँदै जिल्लामा भएका कतिपय घटनाहरू छुटेको हुनाले थप गर्न सुझाव दिए । अधिवक्ताद्वय विश्वजीत तिवारी र विकास आचार्यले बालविवाह र बाल न्यायका कुराहरू समेट्न सुझाव दिए ।
त्यसैगरी उपभोक्ता संरक्षण मञ्चका केन्द्रीय सदस्य बसन्त गौतम र फियानका सुरेश गौतमले उपभोक्ता अधिकारको विषयलाई समेट्नु पर्ने बताए ।
पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य झलक गैरेले वर्ष पुस्तकलाई नयाँ ढङ्गले प्रस्तुत गर्नुपर्ने बताए । उनले घटनालाई जोडेर कानुनमा भएको प्रावधानका विषय समेत उल्लेख गर्नु पर्ने बताए ।
