नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० का लागि मोरङमा २०१९ जनवरीदेखि जुनसम्म अभिलेख गरिएका घटनाहरूको असार १३ गते प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गरिएको छ ।
६ महिनाको अवधिमा मोरङमा ८५ ओटा घटनामा १७ पुरूष र ७२ महिला गरी ८९ जना पीडित भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । महिलामध्ये पनि ३३ जना बालिका पीडित भएको तथ्याङ्क इन्सेकले अभिलेख गरेको छ ।
सो अवधिमा राज्यपक्षबाट भएका गिरफ्तारका ६ ओटा घटनामा नौ जना पुरूष पीडित भएको इन्सेक मोरङ जिल्ला प्रतिनिधि इन्दिरा भट्टराईले बताइन् ।
यस अवधिमा बलात्कारका ३३ ओटा घटनामा २० जना बालिका र १३ जना महिला पीडित भएका छन् । अभिलेखित विवरण अनुसार बलत्कार प्रयासका घटनामा ६ जना महिला र यौन दुर्व्यवहारका घटनामा १० जना बालिका पीडित भएकाछन् ।
यसैगरी हत्याका घटना दुई ओटा, कुटपिट तथा घाइतेका पाँच ओटा , घरेलु हिंसाका पाँच ओटा, बहुविवाहका पाँच ओटा र मानव बेचबिखनका चार ओटा घटना अभिलेख गरिएको भट्टराईले बताइन् ।
कथित बोक्सी आरोप, नवजात शिशु हत्या, बालश्रम, जातीय विभेद, अप्राकृतिक मैथुन, अमानवीय व्यवहार र तोडफोडका एक-एक ओटा घटना प्रस्तुत गरिएको छ ।
कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोग प्रदेश १, कार्यालय प्रमुख मोहनदेव जोशीले नागरिक तथा राजनीतिक अधिकारका साथसाथै उपभोक्ता अधिकारको संरक्षण हुनुपर्ने बताए ।
उनले उपभोक्ताहरूको अधिकार संरक्षणका लागि अधिकारका क्षेत्रमा क्रियाशील सङ्घसंस्थाहरूले आवाज उठाउनु पर्ने बताए ।
नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष बन्धु पोखरेलले पत्रकारहरूसमेत मानव अधिकारकर्मीकै रूपमा काम गर्ने भएकोले अधिकारवादी सङ्घसंस्था र पत्रकारहरूबीच समन्वय आवश्यक रहेको बताए ।
कार्यक्रममा इन्सेक प्रदेश १ का संयोजक सोमराज थापाले राज्यबाट हुने मानव अधिकार उल्लङ्घनका घटना र ज्यादतीका घटनाबारे आमसञ्चार क्षेत्रले निरन्तर खबरदारी गर्नुपर्ने बताए ।

