अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम धादिङबेसीमा असार १५ गते सम्पन्न भएको छ ।
मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूका बारेमा विगत ६ महिनामा सङ्कलन गरिएका घटनाहरूका बारेमा छलफल गरिएको थियो ।
कार्याक्रममा इन्सेक जिल्ला प्रतिनिधि सीताराम अधिकारीले बलात्कार, बालयौन दुव्र्यवहार, हत्या, कुटपिट, कथित बोक्सीको आरोप, घरेलु हिंसासम्बन्धी १३ ओटा घटनाहरूका विवरण प्रस्तुत गरेका थिए ।
भूकम्पपछि निर्माण भएका जिल्ला सदरमुकामका सार्वजनिक भवनहरू भवन आचारसंहिता विपरीत अपाङ्गमैत्री नभएको विषयमा सरोकारवालाहरूले गुनासो गर्दै आक्रोस व्यक्त गरे ।
नेपाल अपाङ्ग महासङ्घका सदस्य गुणराज खतिवडाले भवन निर्माण भइसक्दा पनि सार्वजनिक भवनहरू अपाङ्गमैत्री नभएको, ¥याम राखेको भरमा अपाङ्गमैत्री भन्ने गरिएको र औपचारिकता मात्र पूरा गर्न खोजिएको विषयमा सबैको ध्यान जानु पर्नेमा जोड दिए ।
महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालकी महासचिव राधिका सापकोटाले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार र त्यस किसिमका महिलाहरूको सुरक्षाको कुरा उठाउँदै सुस्त, तथा बहिरा महिलाले न्याय प्रकृयामा सहयोगी राख्न नपाएका कारण न्यायबाट विमुख भएको घटनाबारे जानाकारी दिइन् ।
















